ललितपुर : वाङ्मय शताब्दी पुरुष, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रियताको जगेर्नामा संगीतको ठूलो महत्व रहेको वताएका छन् । राष्ट्रिय बौद्धिक केन्द्र, ललितपुरद्वारा आयोजित ‘राष्ट्रियताको लागि संगीतको उपादेयता’ विषयक कार्यक्रममा बोल्दै उनले भने, ‘संगीतको माध्यमबाट राष्ट्रियताको जगेर्ना गर्न सकिन्छ, त्यसका लागि सरकारी तहबाट पनि पर्याप्त स्थान दिनु आवश्यक छ ।’

संगीत विनाको शिक्षा अपूर्ण हुने भन्दै जोशीले भने, ‘संगीतलाई हाम्रो शिक्षा प्रणालीमा पनि तल्लो तहदेखि नै समेटेर लैजानुपर्छ ।’ विभिन्न जातजाति, भाषाभाषीका रितिरिवाज, कलासंस्कृति, धर्मकर्मलाई समेटेर राष्ट्रियताको भावना निर्माण गर्न संगीतको विशेष स्थान रहेको उनको भनाई छ । सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा यूवा नेता प्रदिप पौडेलले देशले संगीतलाई त्यति महत्व दिन नसकेको वताए । ‘संगीत एउटा सृजना हो । सृजना आफैमा सकरात्मक र रचनात्मक हुन्छ’, उनले भने, ‘यसको विकासका लागि नेपालको सरकार र राजनीतिज्ञहरुले जति महत्व दिनुपर्ने हो, त्यति दिन सकेको अवस्था छैन ।’ राज्य र समाजको कुनै लगानी विना नै अहिलेसम्मका ठूलाठूला भनेर मानिएका संगीतज्ञहरु पनि आफ्नै साधनाले सफल भएको नेता पौडेलले वताए ।
कांग्रेस ललितपुरका सभापति तथा पूर्व सांसद मदन बहादुर अमात्यले संगीतले हरेक मान्छेलाई प्रभाव पार्ने र त्यसले आकर्षण गर्ने उल्लेख गरे । ‘हरेक नेपाली संगीतसंग खेलिरहेको हुन्छ’,उनले भने,‘संगीतको माध्यमबाट राष्ट्रियताको जगेर्ना गर्नको लागि नेतृत्व तहको ठूलो भूमिका हुनुपर्दछ ।’ ललितपुर महानगरपालिकाले गतवर्ष ६५ जना यूवाहरुलाई संगीत सिकाउन महानगरको सामाजिक विकास समितिले योगदान पु¥याएको छ । कार्यक्रमका सभापति एवं राष्ट्रिय बौद्धिक केन्द्र ललितपुरका अध्यक्ष पवनलाल श्रीवास्तवले संगीतले राष्ट्रको गौरवलाई उच्च राख्न वल पुर्याउने बताए ।