बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले शनिवार २ लाख ५३ हजार बरावरको अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको दैनिक उपभोग्यदेखि लत्तकपडाका सामग्री बरामद गरिएको छ ।
जिल्लाको मर्चवारी गाउँपालिका–६ बाट पाँच वटा खसीबोका, सिद्धार्थनगर नगरपालिका–१ वाईपास चेकबाट कोका कोला, कापी, पापड, बिस्कुट, चिनी बरामद भएको छ । त्यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहबाट २८ बोरा प्याज, ५५ किलो माछा, मायादेवी गाउँपालिका–५ बाट ८ बोरा प्याज, कुखुरा, सम्मरीमाई गाउँपालिका–३ बाट महिलाले प्रयोग गर्ने कपडा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामग्रीहरु भैरहवा, बेलहिया भन्सार कार्यालय र पशु क्वारेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए । राठौरका अनुसार रुपन्देही प्रहरीले दिनहुँ लाखौँ मूल्य बरावरका भन्सार छलीका अवैध सामानहरु बरामद गरेको छ ।