प्यूठान : नेकपा एमाले प्यूठानको अध्यक्षमा पूनः विजय विराज विष्ट निर्वाचित भएका छन् । मंगलवार भएको मतपरिणाम अनुसार विष्ट अध्यक्षमा विजयी भएका हुन् । उनले २ सय ९९ र प्रतिस्पर्धी मधुर शर्माले १ सय ८५ मत पाएका छन् । उपाध्यक्षमा माधव शर्मा पौडेलले २ सय ५७ मत लिएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेगनसिँह कवरले २ सय ५१ मत पाए । उपाध्यक्षमा ६ मतको अन्तर भयो ।
सचिवमा इन्द्रमणी पोख्रेल, उपसचिवमा हिरामणी भण्डारी (खुल्ला) र इश्वरा आचार्य (महिला) निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष बाहेक अन्य पदमा निर्वाचित हुनेहरु नयाँ अनुहार हुन् । नौ वटै पालिकाबाट सर्वसम्मत सदस्यहरू निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक एवं पार्टीका जिल्ला इन्चार्ज नरुलाल चौधरीले जानकारी दिए । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।