बुटवल : नेकपा (एमाले) रुपन्देहीको दशौँ जिल्ला अधिवेशन बुधवारदेखि भैरहवामा शुरु भएको छ । दुई दिनसम्म चल्ने अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिवेशनको उद्घाटन गरे ।
उद्घाटनमा प्रमुख अतिथीको रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने पूर्व निर्धारित कार्यक्रम तय भएपनि कार्यव्यस्तताले गर्दा ओली उपस्थिती हुन् सकेनन् । ओलीको शुभकामना सन्देश अधिवेशनमा पढेर सुनाइयो । पार्टी अध्यक्ष ओली आउने कार्यक्रम तय भएकै कारण अधिवेशन २३ र २४ गतेका लागि सारिएको थियो ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल सहित पार्टी केन्द्रीय सचिव एवं प्रतिनिधीसभा सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेश इन्वार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्राई, दधिराम न्यौपाने लगायतका नेताहरु अधिवेशनमा उपस्थित छन् । अधिवेशनका लागि जिल्लाभरबाट ८ सय ५३ जना प्रतिनिधि सहभागी भएका छन् । आगामी नेतृत्वका लागि कुल १ सय ४५ जना जिल्ला कमिटी अधिवेशनबाट निर्वाचित हुने छन् ।
