झिमरुक (प्यूठान) : साँघुरो र अप्ठ्यारो सडकको यात्राले सास्ती पाएका झिमरुक गाउँपालिका वडा नम्वर ४ स्थित बांगेमरोठ र बौडाका नागरिकहरुको माग यसपाली पुरा भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत देउराली–मैदान–बाँसखोला–बांगेफेदी–बांगे –बौडा–अर्घाखाँची सडकका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको प्यूठानका संघीय सांसद् सूर्य थापाले जानकारी दिए ।
सांसद् थापाकै विशेष जोडबलमा बजेट विनियोजन भएको हो । झिमरुक गाउँपालिकाकै बादीकोट मैदानदेखि बाँसखोलासम्म नयाँ ट्र¥याक खुल्ने छ भने न्वाउरेखोलादेखि बांगेहुँदै बौडासम्म सडक स्तरोन्नती हुनेछ । नालीवीनाको सडकका कारण वर्षातको बेला धेरैपटक अवरुद्ध हुने गरेको छ ।

गत वर्षको बर्षातमा विग्रिएको न्वाउरेखोला बांगे बौडा सडक । तस्विर : ज्ञान बहादुर केसी
सडक स्तरोन्ततीका लागि राखिएको माग पहिलोपटक पुराहुँदा खुसी लागेको झिमरुक ४ बौडाका स्थानीय रमेश जिसीले प्रतिक्रिया दिए । ‘धेरै ठाउँमा ग्रेडिङ मिलाउनुपर्ने छ’,गाडी चालक समेत रहेका जिसीले भने,‘गाउँको विकासका लागि आएको बजेटको उचित कार्यान्वयन गर्न सवैले साथ दिनुपर्छ ।’ न्वाउरेखोलादेखि बांगे बौडाहुँदै छिमेकी जिल्ला अर्घाखाँचीको गोखुंगा (सिमेदेउराली) अहिले साँघुरो सडक संचालनमा छन् ।
‘बाटोसँगै गाउँको दिपेन्द्र प्राविको स्तरोन्नतीका लागि बजेट आवश्यक छ’,उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भरतविक्रम जिसीले भने,‘बाटोमा बजेट परेको सुन्दा धेरै खुसी छौँ । धेरै वर्षअघिदेखिको माग अहिले पुरा भयो ।’ बजेट प्रत्येक वर्ष विनियोजन हुने नियमित प्रक्रिया भएपनि लक्षित वर्गमै पुग्ने गरी सरकारले बजेट विनियोजन गर्दा स्थानीयमा उत्साह थपिने झिमरुक ४ काउँछेका समाजसेवी जगत जिसीले प्रतिक्रिया दिए ।