बाग्दुला (प्यूठान) : प्यूठानकै अति व्यस्त प्रमुख बजार केन्द्रको रूपमा रहेको बाग्दुला बहाने सडकखण्ड अन्तर्गत दम्तीसम्मको सडक कालोपत्रे गर्ने कामले तिव्रता पाएको छ । पहिलो चरणमा तीन किलोमिटर दुई सय मिटर लम्बाईको दुरीमा कालोपत्र गरिने छ । कालोपत्र योजनाको जिम्मा हाम्रो निर्माण सेवा सुर्खेतले पाएको छ । पाँच करोड ४१ लाख रुपैयाँ लागत सम्झौता भएको योजनाको काम अघिल्लो बर्षमै सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण व्यवसायीको ढिलासुस्तीले कामले गति लिएको थिएन् ।
तर, म्याद थप गरिएको योजना चालु असार मसान्तमै काम सम्पन्न गरिसक्ने लक्ष्य लिईएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख एवं बरिष्ठ इन्जिनियर चन्द्र शाहले जानकारी गराए । ‘यो डी.बी.एस.टि कालोपत्र योजना हो’, शाहले भने,‘दम्तीसम्म बाँकी १ किलोमिटर लम्बाईमा कालोपत्र बनाउने जिम्मा हरियाली निर्माण सेवा प्यूठानले पाएको छ । २ करोड १३ लाख रुपैयाँमा सम्झौता भएको कार्यालयले जानकारी गराएको छ । आगामी वर्ष भित्र काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने मुख्य बजारकै सडक कालोपत्र हुँदा स्थानीय व्यवसायीहरु उत्साहित भएको प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधवराज भण्डारीले बताए ।