प्यूठान : प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी आश्रमले वार्षिक आम्दानी खर्च विवरण सार्वजनिक गर्नुपर्ने सरोकारवाला निकायले बताएका छन् । नीजि गुठीका रूपमा सञ्चालित स्वर्गद्वारी आश्रममा वार्षिक करोडौं रुपैयाँ बराबरको आर्थिक गतिविधि हुने गर्छ ।
जनसरोकार, नागरिक तथा सरकारी लगानी रहेको संस्थान नागरिकप्रति बढी जवाफदेही हुनुपर्ने नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजालले बताए । उनले आश्रमको पनि आय व्यय विवरण सवै नागरिकहरुले देख्ने गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
नेपालभर रहेका गुठी तथा निजी गुठीहरुको अभिभावकीय संस्था गुठी संस्थान भएको गुठी संस्थानका केन्द्रिय अध्यक्ष शिवराज पण्डितले बताए । केही वर्ष पहिले स्वर्गद्वारीलाई सर्वोच्च अदालतले विशेष प्रकारको नीजि गुठीका रूपमा व्याख्या गरेकाले अहिले गुठी संस्थानले हेर्न नमिल्ने पण्डितले बताए ।
‘जनता र राज्यको लगानी भएको ठाउँमा सम्बन्धित संस्थान जवाफदेही हुनुपर्छ’, पण्डितले भने, ‘सार्वजनिक सरोकार राख्ने हरेक संस्थानहरुले पब्लिक अडिट गर्न जरुरी छ ।’ केही वर्ष पहिले स्वर्गद्वारी आश्रमको सञ्चालन व्यवस्थापनका सन्दर्भमा अध्ययन गरेर सुझाव पेश गर्न गठित कार्यदलका सदस्यका रूपमा १५ महिना काम गरेको पण्डितले स्मरण गरे । ‘हामीले विस्तृत अध्ययन गरेर प्रतिवेदन पनि पेश गर्यौं तर कार्यान्वयन गर्न आश्रमले चासो देखाएन् ।’ उनले भने ।
स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरी अधिकारीले आश्रमले आफ्नै विधि र प्रक्रियाबाट आम्दानी खर्चको विवरण सार्वजनिक गर्दै आएको बताएका छन् । ‘हरेक वर्ष जिल्ला प्रशासन कार्यालय तथा करदाता सेवा कार्यालयमा संस्थाको अडिट रिपोर्ट पेश गर्दै आएका छौं’, अधिकारीले भने, ‘हाम्रो साधारण सभा हुने गर्दछ, विभिन्न समिति हुँदै निर्देशक समितिले आश्रमको सबै पक्षलाई हेर्दछ ।’ सार्वजनिक रुपमै आश्रमको आम्दानी खर्च सार्वजनिक गर्नको लागि कुनै समस्या नरहेको उनले बताए ।
२०८०÷२०८१ मा स्वर्गद्वारी आश्रमको कुल आम्दानी ८ करोड ९७ लाख ७१ हजार ८ सय ३२ रुपैयाँ रहेको उनले जानकारी गराए । सबै खर्च कटौती गर्दा झण्डै २० लाख रुपैयाँ बच्ने उनी बताउँछन् ।
आश्रम प्रमुखको संयोजकत्वमा निर्देशक समिति रहेको र त्यही समितिले सम्पूर्ण व्यवस्थापनका कामहरू गर्दै आएको उनले जानकारी गराए । समितिमा प्यूठान, रोल्पा र दाङको प्रमुख जिल्ला अधिकारी पदेन सदस्य रहेन व्यवस्था छ भने, रोल्पाको रुन्टीगढी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, लमही, दाङ र तुल्सीपुर उपमहानगरपालिका स्थानीय तहका प्रमुखहरु सदस्य रहने व्यवस्था रहेको छ ।
स्वर्गद्वारी महाप्रभुको आश्रम रहेकै स्थानीय तह स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीले स्वर्गद्वारी आश्रमले अहिलेसम्म कुनैपनि औपचारिक कार्यक्रम, बैठक आदीमा नबोलाएको बताएका छन् । आफ्नै नगरपालिकामा स्वर्गद्वारी आश्रम रहेता पनि यसको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा अहिलेसम्म औपचारिक रूपमा नबोलाईएको उनी बताउँछन् ।
‘म पदबहाली भएदेखि अहिलेसम्म कुनै पनि कार्यक्रममा बोलाएको अवस्था छैन्’, नगरप्रमुख भण्डारीले भने, ‘निजी गुठीलाई हामीले नियमन गर्ने अवस्था पनि छैन् ।’ स्वर्गद्वारीको समग्र विकासमा नगरपालिकाले भने आवश्यक सहयोग पहलकदमी भने गर्दै आएको उनले बताए । स्वर्गद्वारी आश्रमले सार्वजनिक सुनुवाई मार्फत वार्षिक आय व्यय सार्वजनिक गर्दा राम्रो हुने उनको सुझाव छ ।