बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई अझ बलियो बनाउनका लागि बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा बुधवार प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधियुक्त बनाउँदै लैजानुपर्ने बताएका हुन् ।
‘अपराधहरु बढ्दै गएका छन् । चुनौतीहरु थपिदै छन् । सोही अनुसार प्रहरी संगठन बदलिदो परिवेश अनुसार रुपान्तरण हुनु जरुरी छ’,आचार्यले भने,‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । फेरिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनिकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्नु पर्छ ।’
अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको समेत मुख्यमन्त्री आचार्यले सुनाए । ‘लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको छ । प्रदेशको शिर उचो बनाउन यहाँहरुले गरेको योगदानको उच्च करद गर्न चाहन्छु’उनले भने,‘अमर शहिदको योगदान र बलिदानको स्मरण गर्न चाहन्छु । अमर प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने छ ।’ सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ ।