बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्वर २ पाखापानीकी ७२ वर्षिय श्याम कुमारी मल्ल मुटुको समस्याले लुम्बिनी प्रादेशिक अस्पतालमा चारदिन देखि उपचाररत थिईन् । केही दिनअघि घर नजिकैको एडमण्ड सिटी हस्पिटलमा उपचार गरेर निको भएपनि पूनः समस्या बल्झिएपछि उनी प्रादेशिक अस्पताल पुगेकी हुन् ।
आइसियुको बेड नम्वर २५ मा छोरी लक्ष्मी मल्लले आमालाई भर्ना गराइन् । उपचार चलिरहेको थियो । विरामीका आफन्तहरु उपचार सफल हुनेमा आशावादी हुँदै गएका थिए । तर, सोमवार अस्पतालमा कार्यरत स्टाप नर्सहरुले २५ नम्वर बेडमा उपचाररत मल्ललाई ९ नम्वरमा सारेछन् । त्यो पनि कुरुवाको अनुमतीबीनै ।
नर्सहरुले २५ नम्वरको विरामीलाई औषधी र खाजा मगाएपछि अव निको हुने भयो भनेर आफन्तहरु खुसी थिए । आमाको उपचारमा खटिएकी छोरी लक्ष्मीको अनुहारमा बेग्लै उत्साह थियो । तर, खबरै नगरी बेड परिवर्तन गरेर ९ नम्वरमा पु¥याएकी उनको मृत्यु भइसकेको आफन्तहरुले बताएका छन् । विरामीका आफन्त र कुरुवाको अनुमतीबीनै अस्पतालले विरामीलाई एउटा बेडबाट अर्को बेडमा सारेपछि पीडितहरुको आक्रोश चुलिएको छ ।
‘मृत्यु भइसकेको विरामीलाई अस्पतालले औषधी र खाजा मगाएको रहेछ’,विरामीका आफन्त एवं बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य नकुल शाहीले प्रश्न गर्दै भने,‘कुरुवाको अनुमतीबीना अस्पतालले विरामीको बेड परिवर्तन गर्न पाइन्छ ? गम्भिर लापरवाही भएको छ । छानबीन गरी दोषीलाई कारवाही गरियोस् ।’ विरामीको मृत्यु भइसकेपछि पनि करिव आठ हजार रुपैयाँको औषधी अस्पतालले मगाएको उनले गुनासो पोखे । मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ । अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरुले निष्पक्ष छानबीन गर्नुपर्ने माग राखेका छन् ।
तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालले अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । ‘विरामी चार दिनदेखि आइसियुमा उपचाररत हुनुहुन्थ्यो’,ढकालले भने,‘उहाँ मुटुसम्वन्धी जटिल समस्यमा हुनुहुन्थ्यो । दुईपटक मुटु बन्द भएको रहेछ । भेन्टिलेटर जोनमा राख्नुपर्ने भएपछि ९ नम्वर बेडमा सारिएको हो । अर्को बेडमा सार्दा छोरीलाई खबर गरेका थियौं ।’ उनले यस विषयमा त्यसबेला खटिएका कर्मचारी, व्यवस्थापन समिति र पीडित पक्षबीच छलफल गरिएको बताए ।
बेडमा भएका विरामीलाई अर्को बेडमा स्थान्तरण गर्दा विरामीको कुरुवाको अनुमति लिएर मात्र गर्नुपर्ने, कर्मचारीहरुको बोली व्यवहार विरामीमैत्री हुनुपर्ने र विरामीलाई बोलाउँदा बेड नम्वर मात्र नभई नामबाट समेत बोलाउनुपर्ने सहमती भएको छ । ‘सुन्दा सामान्यजस्तो लाग्ला तर यी विषयमा सुधार नहुँदा धेरै विरामीहरुले दुःख पाएका छन्’,बुटवल ११ का वडा सदस्य नकुल शाहीले भने,‘तत्कालका लागि यी विषयमा सहमती भएको छ । अस्पतालको सुधारका लागि हामी सदैव दवाव दिन्छौं ।’
लुम्बिनीका १२ वटै जिल्ला सहित छिमेकी गण्डकी प्रदेशका केही जिल्लाका नागरिकहरु समेत उपचार गर्न यहाँ आउने गर्छन् । अस्पतालमा कार्यरत कर्मचारी र सेवा प्रवाहको बारेमा पटक पटक विरामीहरुले गुनासो पोख्दै आइरहेका छन् । एउटै बेडमा दुई जना विरामी राखेर समेत अस्पतालले उपचार गर्दै आएको पाइएको छ ।