प्यूठान : प्यूठानको सर्वाधिक चर्चामा रहेको बाग्दुला मच्छि सडक खण्डमध्ये बतासेडाँडादेखि सडक कालोपत्रे गर्न झिमरुक गाउँपालिकाले ठेक्का आव्हान गरेको छ । गाउँपालिकाले बुधवार ९ करोड १० लाख रुपैयाँको ठेक्का आव्हान गरेको हो । उक्त बजेटबाट बतासेडाँडादेखि अगाडी अस्फाल्ट प्रविधिको सडक कालोपत्रे हुने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए ।
‘बाग्दुला मच्छि सडकखण्ड मध्ये झिमरुक गाउँपालिकाको क्षेत्राधिकारभित्र पर्ने बतासेडाँडादेखि मच्छिसम्मको सडक गाउँपालिकाले कालोपत्रे गर्ने गरी तिव्र रुपमा काम अगाडी बढिरहेको छ’,क्षेत्रीले भने,‘यो सडक पालिकाको मात्र नभई सिंगो प्यूठानको गौरवसँग जोडिएको योजना हो । हाम्रो कार्यकालभित्र जसरी पनि सडक कालोपत्रे गर्ने काम पुरा गर्छौ ।’
उनले बाग्दुला भिमगिठे सडक योजनाले वर्षौदेखि प्यूठानीको सपना अँधुरै बनाएको हुँदा गाउँपालिकाको अग्रसरताबीना सडक नबन्ने देखिएपछि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी गराए । नाली र फुटपाथ सहित दश मिटरको सडक कालापत्रे गरिने क्षेत्रीको भनाई छ ।
‘हामीले चुनावको प्रमुख एजेण्डामा पनि यो सडक कालोपत्रे गर्ने भनेर जनतासंग मत मागेका थियौं’,क्षेत्रीले भने,‘दैनिक सयौं गाडी ओहोरदोहोर गर्छन् । प्यूठानकै सवैभन्दा व्यस्तमध्येको सडक बाग्दुला मच्छि हो । कालोपत्रे सडकमा यात्रा गर्ने यस क्षेत्रका नागरिकहरुको सपना पुरा गरेरै छाड्छौं ।’