झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका–७ प्यूठानका शिवलाल जैसीको ७१ वर्षको उमेरमा निधन भयो । मुटु रोगको समस्याले थलिएका जैसी लडेर समेत घाइते भएका थिए । उनको उपचार गर्दागर्दै मृत्यु भयो । घरमा १३ वर्षका छोरा सजन सुवेदी र १० वर्षकी छोरी छिन् ।
छोराछोरीसित आमा रिमा जैसी त छिन् तर छोराछोरीलाई ढुक्कछैन् । किनकी आमा अपांग छिन् । राम्रोसंग कान सुन्दैनन् । बोल्न सक्दैनन् । सुस्त मनस्थितीका आमाको उल्टै हेरचार गर्नुपर्ने जिम्मेवारी यीनै नावालक छोराछोरीमाथी छ ।
नाबालक छोरा र आमा अहिले बुवाको निधनमा क्रियामा छन् । अहिले सुवेदी परिवारलाई उनीहरुलाई बुवाको १३ औं दिनको काजकृयाको खर्चको व्यवस्थापन कसरी गर्ने भन्नेमा पिरलो छ । भविष्यको चिन्ता त छदैछ ।
‘हामी सानै हुँदा बुवा वित्नुभयो । सवै आश बुवासित थियो । घरमा खाना खर्च जुटाउन पनि समस्या छ’,१३ वर्षिय सजनले भने,‘बुवाको कृयाखर्च पनि कसरी उतार्ने होला भन्ने चिन्ता भइरहेको छ ।’ उनी कक्षा ७ मा पढछन् । बहिनी ५ कक्षामा पढछिन् । बुवाले मजदुरी गरेर भएपनि परिवारको घरखर्च जोहो गरेका थिए । तर, बुवाको निधनपछि नावालक छोराहरुको विचल्ली भएको छ ।
पढाईलेखाई र घरमा एकछाक जुटाउन यो परिवारलाई हम्मेहम्मे भएको छ । सुवेदी परिवारले सवैलाई सक्दो सहयोग गरेर आफूहरुको दुःखको घडीमा मल्हम लगाइदिन सार्वजनिक अपिल समेत गरेका छन् ।
अप्ठ्यारोमा ‘टेको’ बने प्रमोद
सुवेदी परिवारको कारुणिक पीडा सुनेलगत्तै झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल उनीहरुको घरमा पुगे । पालिकाभरीका दुःखी पीडितहरुको घरमा पुगेर सहयोग संकलन गर्ने र उपचार गराउन सहयोग गर्दै आएका पोख्रेलले यो परिवारको पीडामा पनि साथ दिएका छन् । ‘छोराछोरीको विचल्ली छ । आमाले केही गर्नसक्ने अवस्थामा हुनुहुन्न, अत्यन्तै पीडादायी अवस्था रहेछ’,पोख्रेलले भने,‘आजैदेखि मैले सार्वजनिक रुपमा सवैलाई सहयोग गरिदिन् अपिल गरेको छु । सवैले सहयोग गरेर यी नावालक छोराछोरीको भविष्य उज्यालो बनाइदिन् आग्रह गर्छु ।’