प्यूठान : नेपाली कम्युनिष्ट पार्टी प्यूठानमा असन्तुष्टि देखिएको छ । नेता कृष्णध्वज खड्काले टिकट पाएपछि उम्मेदवारका अर्का आकांक्षी डा.भोजविक्रम बुढामगरले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमै पोखेका छन् । यसअघि बुढामगरले नै प्यूठानमा टिकट पाउने अनुमान धेरैले गरेका थिए ।
तर, पार्टी केन्द्रले आइतवार खड्कालाई उम्मेदवार दिएर पठाएको छ । जिल्लाबाट समानुपातिक उम्मेदवार पूर्व माओवादी केन्द्रको उमा शर्मा अधिकारी भइसकेको र प्रत्यक्षतर्फ आफूलाई उम्मेदवार बनाउँदा राजनीतिक सन्तुलन हुने बुढामगरको तर्क छ । ‘सामाजिक, लैङ्गिक र भौगोलिक क्लस्टर पनि सन्तुलन हुन्छ, किनकी उमा प्युठानको दक्षिण भाग प्रदेश सभा १ ’क’ को हुनुहुन्छ’,बुढामगरले भने,‘म उत्तरी भेग प्रदेश सभा १ ‘ख’ को हुँ । यो गर्दा पार्टीको समानुपातिक मत समेत बढ्छ ।’
बुढामगर पूर्व समाजवादी पार्टीका हुन् । टिकट पाएका खड्का प्यूठान नगरपालिकास्थित पूण्यखोला निवासी हुन् । उनी पूर्व लुम्विनी प्रदेशका मन्त्री समेत हुन् ।