प्यूठान : झिमरुक गाउँपालिका प्यूठानले उत्कृष्ट नतिजा ल्याउने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयलाई सम्मान गरिएको हो ।
उत्कृष्ट सिकाई उपलब्धिमा आधारित शिक्षा पुरस्कार तथा सम्मान कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए । कक्षा ५, ८, १० र १२ कक्षाका बिद्यालय, प्रधानाध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई नगद प्रमाणपत्र, खादा र टिकाले सम्मान गरिएको हो ।
गाउँपालिकाले उक्त कार्यक्रम सम्पन्न गर्नका लागि चालु आर्थिक वर्षमा १८ लाख ६८ हजार ३ सय ३० रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकाले प्रत्येक वर्ष लाखौँ रुपैयाँ विनियोजन गरेर शिक्षा पुरस्कारको कार्यक्रम गर्दै आइरहेको छ ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, विभिन्न बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।