गुल्मी –१
आदरणीय सागर ढकाल ज्यू, नमस्कार ।
यो पत्र कुनै व्यक्तिगत रिस, द्वेष वा राजनीतिक आग्रह–पूर्वाग्रहका कारण लेखिएको होइन । यो पत्र एक गुल्मेलीको हैसियतले, गुल्मीप्रतिको आत्मसम्मान, इतिहास, पहिचान र भविष्यप्रतिको चिन्ताबाट जन्मिएको हो । म यो पत्र तपाईंलाई एक उम्मेदवार मात्र हैन, एक सचेत नागरिक, एकै पुस्तामा हुर्किएको सहयात्री र सम्भावित राष्ट्रिय नीति–निर्माताका रूपमा सम्बोधन गर्न चाहन्छु ।
तपाईं हाल गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । यो आफैंमा ठूलो जिम्मेवारी हो। प्रतिनिधि सभा सदस्य भनेको कुनै गाउँ, कुनै टोल, कुनै जात वा कुनै समूहको मात्र प्रतिनिधि होइन—उहाँ सम्पूर्ण राष्ट्रको प्रतिनिधि हुनुहुन्छ । त्यसैले तपाईंका शब्द, विचार र प्रस्तुति केवल गुल्मीमा मात्र होइन, देशभर सुन्ने, बुझ्ने र विश्लेषण गर्ने गरिन्छ ।
यही सन्दर्भमा, हालै तपाईंले गुल्मीमा आएर चुनावी भाषणका क्रममा बारम्बार “मासु–भात” को विषय उठाउनुभएको कुरा सार्वजनिक रूपमा देखियो। तपाईंको नियत के थियो, तपाईंको उद्देश्य के थियो—त्यो तपाईं स्वयंले स्पष्ट गर्नुहोला। तर तपाईंका ती शब्दहरूले गुल्मी बाहिर के सन्देश गयो, गुल्मीभित्र के अनुभूति भयो—त्यो गम्भीर रूपमा आत्ममूल्यांकन गर्नुपर्ने विषय हो ।
यो पत्र लेख्दा मन भारी छ। भारी राजनीतिक आग्रहले होइन, भारी गुल्मेली पहिचानले। म यो पत्र कुनै दलको कार्यकर्ता भएर होइन, कुनै उम्मेदवारको समर्थक वा विरोधी भएर पनि होइन, केवल एक गुल्मेली नागरिकको हैसियतले लेख्दैछु । तपाईं अहिले गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । त्यसैले तपाईंका शब्द, हाउभाउ र अभिव्यक्तिले केवल चुनावी भीडलाई मात्र होइन, गुल्मीको सामूहिक आत्मसम्मानलाई पनि छुन्छ । यही कारणले यो पत्र आवश्यक ठानिएको हो ।
तपाईं हाल गुल्मीमा आएर दिनु भएका चुनावी भाषणहरूमा बारम्बार “मासु–भात” को कुरा दोहोरिएको देखियो, सुनियो र फैलियो । तपाईंको आशय के थियो, तपाईंको मनसाय के थियो, त्यो तपाईं आफैंले स्पष्ट गर्नुहोला । तर राजनीतिमा आशयभन्दा प्रभाव ठूलो हुन्छ । शब्दभन्दा त्यसले जन्माउने सन्देश गम्भीर हुन्छ । तपाईंका ती शब्दहरूले गुल्मी बाहिर के सन्देश गयो भन्ने कुरा तपाईंले एक पटक गहिरिएर सोच्नुभएको छ कि छैन, म त्यसैको उत्तर खोज्दै यो पत्र लेख्दैछु ।
अघिल्लो चुनावहरूमा देशका विभिन्न ठाउँमा “फलानो जिल्ला मासु–भातमा बिक्यो” भन्ने भाष्य बनाइयो। त्यो भाष्यले केवल चुनावी नतिजा व्याख्या गरेन, उसले जनताको चेतनालाई अपमान ग¥यो। गुल्मी पनि त्यसैको सिकार बन्यो। गुल्मीका जनता विचारले होइन, पेटले भोट हाल्छन् भन्ने गलत र अपमानजनक छवि निर्माण गरियो। त्यो छविले हामी गुल्मेलीलाई वर्षौंसम्म दुखायो। हामीले त्यो आरोप सह्यौँ, तर आत्मसम्मान भने छोडेनौँ ।
तर आज, जब गुल्मीमै आएर, गुल्मीको मत माग्दै, गुल्मीका जनतामाझ उभिएर, फेरि त्यही “मासु–भात” को कुरा उठाइन्छ, तब त्यो बाहिरबाट आएको आरोपभन्दा बढी पीडादायी हुन्छ। किनकि यो बाहिरको होइन, भित्रैबाट आएको चोट हो। तपाईंले जानाजानी भन्नुभयो कि अनजानमै भन्नुभयो, तर त्यसले गुल्मी बाहिर यस्तो सन्देश दियो कि गुल्मीका जनता अझै पनि त्यही पुरानो आरोपकै पात्र हुन्। म खुलेर भन्न चाहन्छु—यसले मलाई व्यक्तिगत रूपमा मात्र होइन, समग्र गुल्मेली समुदायलाई चोट पुगेको छ ।
गुल्मी कुनै भोकले बिक्ने जिल्ला होइन। गुल्मी कुनै चेतनाहीन भूभाग होइन। गुल्मी इतिहास बोकेको, संघर्ष बोकिएको, विचार जन्मिएको जिल्ला हो। यहाँका जनताले जहिले पनि सजिलो बाटो होइन, सही बाटो रोज्ने प्रयास गरेका छन् । यहाँका युवाले बन्दुक, लाठी र लोभभन्दा अघि विचार रोजेका छन्। यहाँका बुढापाकाले पेटभन्दा पहिला प्रतिष्ठा जोगाएका छन्। त्यसैले गुल्मीलाई मासु–भातसँग जोडेर व्याख्या गर्नु केवल गलत होइन, अन्याय हो ।
तपाईं प्रतिनिधि सभा सदस्य बन्न चाहनु भएको हो । प्रतिनिधि सभा सदस्य भनेको गाउँको भोज व्यवस्थापक होइन। प्रतिनिधि सभा सदस्य भनेको राष्ट्र निर्माणको मेरुदण्ड हो। त्यहाँ बसेर कानुन बनाइन्छ, नीति तय गरिन्छ, राज्यको दिशा तय गरिन्छ। त्यसैले त्यस्तो पदको आकांक्षीले भाषणमा के बोल्छ, कसरी बोल्छ, त्यो अत्यन्तै गम्भीर विषय हो। गुल्मीमा उभिएर गुल्मीलाई नै कमजोर देखाउने, गुल्मीलाई नै अपमानित गर्ने भाषाले तपाईंको राजनीतिक उचाइ बढ्दैन, बरु घट्छ ।
हामी तपाईंको मुखबाट मासु–भात होइन, दृष्टि सुन्न चाहन्छौं । गुल्मीको भूगोल तपाईंले कसरी बुझ्नुभएको छ, त्यो सुन्न चाहन्छौं। पहाड, खोला, खेतीयोग्य जमिन, बसाइँसराइ, शिक्षा, स्वास्थ्य र रोजगारीका चुनौतीलाई तपाईंले कसरी हेर्नुभएको छ, त्यो जान्न चाहन्छौं । गुल्मीको विकासका लागि तपाईंको मोडेल के हो, त्यो स्पष्ट रूपमा सुन्न चाहन्छौं। तपाईं प्रतिनिधि सभा सदस्य भएर राष्ट्र निर्माणमा कस्तो नीति बनाउन चाहनुहुन्छ, कस्तो ऐन ल्याउन चाहनुहुन्छ, त्यो तपाईंको भाषणको केन्द्रमा हुनुपथ्र्यो ।
तर दुर्भाग्यवश, त्यो केन्द्र मासु–भातले ओगटेको देखियो। यसले तपाईंलाई होइन, गुल्मीलाई सानो बनायो। तपाईं कुनै समय आफ्नो जिल्ला छोडेर बाहिर जानुभयो। त्यो स्वाभाविक हो । आजका युवाहरू अवसर खोज्दै बाहिर जानु अपराध होइन। तर राजनीतिमा आउँदा त्यस यात्राको इमानदार कथा जनतासँग बाँड्नुपर्छ। तपाईं किन जानुभयो, के उद्देश्यले जानुभयो, त्यो उद्देश्य पूरा भयो कि भएन, यदि भयो भने कसरी भयो, यदि भएन भने किन भएन—यी प्रश्नको उत्तर दिनु तपाईंको जिम्मेवारी हो। “म बाहिर गएँ” भन्नु मात्र पर्याप्त हुँदैन, “म के लिएर फर्किएँ” भन्नु अझ आवश्यक हुन्छ ।
मलाई लाग्छ, तपाईं र म एउटै उमेर समूहका हौँ । हामीले एउटै समयको निराशा देख्यौँ, एउटै समयको सम्भावना देख्यौँ। त्यसैले सोचमा आकाश–पाताल फरक होला जस्तो लाग्दैन। फरक त्यति मात्र हो—कोही पुरानै भाष्य बोकेर हिँड्छ, कोही त्यसलाई तोड्न खोज्छ। तपाईं कुन बाटो रोज्नुहुन्छ, त्यो अझै तय हुन बाँकी छ।
गुल्मीलाई चिनाउनुस्। गुल्मीको हिजो भएका विकास कामको निरन्तरता र आज आवश्यक नयाँ सुरुवातको स्पष्ट खाका दिनुस्। हिजोलाई गाली गरेर होइन, हिजोबाट सिकेर भोलिको योजना सुनाउनुस्। गुल्मीका जनतालाई मासु–भात नखुवाउने घोषणा गर्नुपर्दैन, किनकि गुल्मेली जनता मासु–भात कुर्ने होइनन्। गुल्मेली जनता नीति, नियत र नेतृत्व कुर्ने हुन्। गुल्मेली जनता एक छाकको भोजमा होइन, पाँच वर्षको भविष्यमा मत हाल्ने हुन् ।
त्यसैले अन्तिम आग्रह यही छ—मासु–भातको कुरा छोड्नुस्। गुल्मीलाई अपमानित गर्ने भाषा त्याग्नुस्। गुल्मीका जनतालाई कमजोर होइन, सचेत र सम्मानयोग्य नागरिकका रूपमा सम्बोधन गर्नुस्। यदि तपाईं साँच्चै नयाँ पुस्ताको प्रतिनिधि बन्न चाहनुहुन्छ भने, नयाँ सोच, नयाँ भाषा र नयाँ दृष्टि लिएर आउनुस्।तपाईंले विभिन्न सार्वजनिक अभिव्यक्तिहरूमा गुल्मीलाई “नेपालको दिमाग” भनेर सम्बोधन गर्नुभएको छ। यसले गुल्मीका नागरिकको बौद्धिक क्षमता, चेतना र देश निर्माणमा रहेको योगदानप्रति सम्मान झल्किन्छ। यस्तो मूल्यांकन स्वागतयोग्य छ र हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौं।
तर त्यही सन्दर्भभित्र “मासु–भातको आश्वासन” जस्ता अभिव्यक्तिहरू प्रयोग हुँदा गम्भीर प्रश्न उठ्छ—यस्ता भाष्यले के संकेत गर्छ ? के यसले गुल्मीका जनतालाई क्षणिक लोभमा प्रभावित हुने, विवेकहीन मतदाता जस्तो चित्रण गर्दैन ? यदि गुल्मी साँच्चै “नेपालको दिमाग” हो भने, यस्ता उपमाहरू त्यस परिभाषासँग मेल खान्छन् कि खण्डन गर्छन ?
गुल्मी प्रशासनिक, बौद्धिक र व्यावसायिक सबै कोणबाट अग्र स्थानमा रहेको जिल्ला हो। देशका नीति निर्माता, प्रशासक, शिक्षक, चिकित्सक, उद्यमी र सचेत नागरिक उत्पादन गर्ने जिल्लाको रूपमा गुल्मीको पहिचान स्थापित छ। यहाँका नागरिकले राजनीतिक निर्णय गर्दा व्यक्तित्व, विचार, नीति र कार्यदक्षताको मूल्यांकन गर्छन् । थालको परिमाण हेरेर होइन ।
राजनीतिमा भाषा अत्यन्त संवेदनशील विषय हो। एक नेताको भनाइले केवल क्षणिक ताली मात्र होइन, समाजको सामूहिक छवि निर्माण गर्छ। विशेषगरी तपाईं जस्तो युवा नेता, जसबाट नयाँ राजनीतिक संस्कारको अपेक्षा गरिएको छ, तपाईंको शब्द चयन अझै जिम्मेवार र सचेत हुन जरुरी देखिन्छ ।
हामी यो भन्न चाहन्छौं कि गुल्मीलाई उदाहरण बनाउँदै मासु–भात जस्ता आश्वासनका भाष्यहरू स्थापना हुनु राम्रो संकेत होइन। यसले बाहिर गलत सन्देश पठाउँछ र भित्र नागरिकको आत्मसम्मानमा चोट पु¥याउँछ। राजनीति जनतालाई होच्याएर होइन, जनताको चेतनालाई सम्मान गरेर अगाडि बढ्नुपर्छ ।
त्यसैले, आदरणीय सागर ज्यू,
गुल्मी आउँदा यहाँको पहिचान, गरिमा र बौद्धिक स्तरलाई कमजोर बनाउने कुनै पनि भाषिक अभ्यास नगर्नुहोस् । गुल्मीलाई भाषणको उपमा होइन, नीति, समाधान र जिम्मेवार बहसको केन्द्र बनाइदिनुहोस् । यसलाई आलोचना होइन, व्याख्या र सुधारका लागि गरिएको विनम्र अनुरोधका रूपमा लिनुहोला ।
यो पत्र कुनै कुनै राजनीतिक चाल होइन। यो एक गुल्मेलीको आत्मसम्मानबाट निस्किएको इमानदार आवाज हो। आशा छ, तपाईंले यसलाई आक्रोश होइन, आत्ममूल्यांकनको रूपमा लिनुहुनेछ ।
धन्यवाद ।