बुटवल : रुपन्देहीको भलवारीमा महिन्द्रा कम्पनीका नयाँ BE6 र XEV 9E मोडलका विद्युत्तीय कारहरू सार्वजनिक गरिएको छ । शनिवार एक कार्यक्रमका बीच महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि आस्था भलवारीद्वारा सार्वजनिक गरिएको हो । रुपन्देही क्षेत्रमा रहेका उद्योगी, व्यवसायी, डिलर र सर्वसाधरण नागरिकको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रममा महिन्द्राका अत्याधुनिक प्रविधिमा आधारित विद्युतीय सवारी साधनलाई औपचारिक रूपमा सार्वजनिक गर्दै कम्पनीका सेल्स डाइरेक्टर बर्दान बस्नेतले नेपालमा विद्युतीय सवारी साधनको भविष्य उज्यालोतर्फ उन्मुख रहेको बताए ।
बढ्दो इन्धन मूल्य र वातावरणीय चुनौतीलाई ध्यानमा राख्दै महिन्द्राले पर्यावरणमैत्री, किफायती र दीगो समाधानका रूपमा विद्यत्तीय कार नेपाली बजारमा ल्याएको उनको भनाई छ ।
सार्वजनिक गरिएको महिन्द्राका यी कार एकपटकको पूर्ण चार्जमा करिब ४ सयदेखि ५ सय किलोमिटरसम्म चल्न सक्ने माइलेज क्षमतायुक्त रहेको कम्पनीको दाबी छ । शक्तिशाली ब्याट्री, फास्ट चार्जिङ प्रविधि, आधुनिक डिजाइन तथा सुरक्षित ड्राइभिङ प्रणालीका कारण यो कार नेपाली सडक र उपभोक्ताको आवश्यकताअनुसार उपयुक्त रहेको कम्पनीले दावी गरेको छ ।
महिन्द्राको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने बताइएको छ । ६ वटा भेरियन्ट अनुसार मूल्य फरक पर्ने भएपनि करिब ५७ लाख रुपैयाँदेखि शुरु हुने कम्पनीले जनाएको छ । कारमा डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी, आधुनिक सुरक्षा प्रणाली, आरामदायी इन्टेरियर तथा उन्नत ब्रेकिङ सिस्टम जस्ता सुविधाहरू समावेश गरिएको छ । यी सुविधाले प्रयोगकर्तालाई सुरक्षित, सहज र आधुनिक यात्राको अनुभव दिने कम्पनीको विश्वास छ ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले महिन्द्राको नयाँ इलेक्ट्रिक कारले लुम्बिनी प्रदेशसहित समग्र नेपाली बजारमा विद्युतीय सवारी साधनप्रतिको विश्वास थप मजबुत बनाउने प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथिका तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष ज्ञानेन्द्र कार्की सहित अग्नि ग्रुप लुम्बिनी प्रदेश प्रमुख रामेश्वर महर्जन, प्रोडक्ट म्यानेजर सागर भट्टराई र अग्नि आस्था भलवारीका सेल्स विभाग प्रमुख प्रज्वल अर्याल लगायतको उपस्थिति रहेको थियो ।