बुटवल : इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुका इन्चार्ज प्रहरी निरिक्षक अर्जुन पौडेल लुम्बिनी प्रदेशभरमै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन् । अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गर्नुका साथै प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ लाई सफल पार्न पु¥याएको योगदानको कदर स्वरुप उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको हो ।
प्रदेशका १२ वटा जिल्लाबाट उनी कार्यसम्पादनका आधारमा उत्कृष्ट घोषित भएको लुम्विनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार प्रहरी निरिक्षक पौडेल फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका हुन् । १२ वटै जिल्ला प्रहरी कार्यालयले पनि प्रत्येक महिना उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गर्छन् । इलाका प्रहरी कार्यालय पिपरामा पौडेल विगत पाँच महिनादेखि कार्यरत छन् ।
के गरे पौडेलले ?
पाँच महिनाको अवधिमा उनको नेतृत्वमा दुई पटकमा गरी ३ सय २८ बोरा रासायिनक मल बरामद गरिएको छ । बरामद गरिएका सामान राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।
वर्षौदेखि फरार भएका चार जना व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई तीन वर्ष सात महिना कैद सजाय र २ लाख ४० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । लागुऔषध कारोवारमा संलग्न १५ जना व्यक्तिहरुलाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको छ । उनीहरुबाट २ ग्राम ४६० मिलिग्राम लागुऔषध नियन्त्रण गरिएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने यस क्षेत्रमा लागुपदार्थ सेवनको कडाईका साथ चेकजाँच गरिएको छ । सवारी साधन चलाउँदा लागुपदार्थ सेवन गरेका चालकहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही गरिएको छ ।
एक रेष्टुरेन्टमा जुवा खेल्ने ६ जना व्यक्तिहरुबाट नगद दुई लाख ५६ हजार २ सय ९० रुपैयाँ सहित नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिएको छ । प्रतिनिधीसभा सदस्य निर्वाचनका बेला निर्वाचन बिरोधी गतिविधी गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको थियो । अवैध रुपमा ढुंगागिट्टी बालुवा उत्खनन् र चोरी निकासी गर्ने चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बाणगंगा नगरपालिकामा पठाइएको र दुई लाख रुपैयाँ राजश्व जरिवाना तिराइएको छ ।
‘हेप्पी हावर उइथ टिम’ श्रृखंलाको शुरुवात गरिएको छ । त्यस अन्तर्गत प्रत्येक महिनाको अन्तिम दिन महिनावारी जन्मदिन पर्ने प्रहरी कर्मचारीहरुको सामुहिक जन्मोत्सव मनाउने, अनुभव आदानप्रदान गर्ने, मनोरञ्जनात्मक खेलहरु खेल्ने लगायतका गतिविधिी हुने गरेका छन् । जसले प्रहरी कर्मचारीहरुबीच आपसी सद्भाव बढाएको छ ।