प्युठान : कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज शनिबार यमराजको दूतका रुपमा कागलाई मीठा परिकारहरु खान दिएर प्युठान लगायत देशभर मनाइदै छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको हो ।
शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताउनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लैजाओस भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।