झिमरुक (प्यूठान) : नेकपा मसालको ‘गढ’ भनेर चिनिने झिमरुक गाउँपालिका वडा नम्वर ५ मा नेकपा एमाले विजयी भएको छ । यो वडा मसालका महामन्त्री मोहनविक्रम सिँहको समेत वडा हो । एमालेका दधिराम पोखरेलले राष्ट्रिय जनमोर्चाका देबेन्द्र जिसीलाई ८१ मतले पछिपार्दै विजयी भएका हुन् । पोखरेलले ६ सय ३९ र जिसीले ५ सय ५८ मत लिएका छन् । चार जना वडा सदस्यमा भने राजमोले जितेको छ ।

साविक ओखरकोट गाविस मिलाएर यो वडा बनेको हो । ०४९ सालदेखि ०७४ सम्म यहाँ निरन्तर नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले एकलौटी सत्ता संचालन गर्दै आइरहेको थियो । ०४९ मा तत्कालिन ओखरकोट गाविसमा विर बहादुर जिसी र ५४ मा रण बहादुर खड्काले अध्यक्ष जितेका थिए ।

राज्य पूनःसंरचनासँगै ०७४ सालको स्थानीय तह निर्वाचनमा झिमरुक यस वडामा टिका बहादुर जिसीले जितेका थिए । जिसी अहिले झिमरुक गाउँपालिका अध्यक्षमा चुनाव लडेका छन् । मत गणना चलिरहेको छ । नेपाली कांग्रेस र राजमोले चुनावी गठवन्धन गरेको छ । कुनैबेला शानदार रुपमा एक्लै चुनाव लडेर जित्ने राजमो अहिले अन्य दलको सहारामा चुनावमा सहभागी भएको हो ।

वडा नम्वर ५ लाई झिमरुक गाउँपालिकाको महत्वपूर्ण वडाको रुपमा समेत हेर्ने गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि नजिकै पर्ने मच्छि बजार समेत यसै वडामा पर्दछ ।

वडा अध्यक्षमा विजय भएपछि ओखरकोटमा आयोजित कोणसभामा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले अब ओखरकोट मोहनविक्रम सिँहको किल्ला नरहेको स्पष्ट पारे । मसालको गढ भत्काएको उल्लेख गर्दै थापाले भने,‘शुरुमा बाटोको ट्र¥याक खनेजस्तै हो मसालको किल्ला भत्काउनु, अब यस बाटोलाई हामी कालोपत्रे गर्छौ ।’ उनले निर्वाचित जनप्रतिनिधीहरुलाई जनताको मन जित्ने गरी काम गर्न र पार्टी नेतृत्वबाट आफूहरुले साथ दिने उल्लेख गरे ।