प्यूठान : प्यूठान प्रहरीले तपाईको मास्क खोइ ? अभियानलाई पूनः तिब्रताका साथ अघि बढाएको छ । जिल्लाका सबै प्रहरी यूनिट मार्फत अभियानलाई तिब्रता दिईएको प्यूठान प्रहरी प्रमुख सत्य नारायण थापाले जानकारी दिए । कोरोना बढ्दै गएपछि प्रहरीले मास्क नलगाउने नागरिकहरुलाई प्रश्न गर्न थालेको हो ।
‘मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने गरी अघि बढ्दै छौं’,प्रहरी नायव उपरीक्षक थापाले भने ‘अभियानलाई विशेष गरी हाईवे तथा बजार केन्द्रित गरिएको छ ।’ जनस्वास्थ्यका प्रोटोकलहरुलाई पालना गर्न थापाले आम प्यूठानीहरुलाई आग्रह समेत गरेका छन् । कोभिड–१९ का नया भेरियन्ट ओमिक्रोन मार्फत दिनप्रतिदिन संक्रमण बढ्दै जाँदा कोभिड नियन्त्रण तथा रोकथामका लागि प्रहरीले अभियान थालेको हो ।
अभियान अन्तर्गत बजार क्षेत्रमा सचेतनामुलक माइकिङ कार्यक्रम, मास्क नलगाई बजारमा किनमेल तथा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क वितरण गरिँदै आएको छ भने सवारी साधनहरुमा सेनिटाइजर राख्न सुझाव दिईएको छ । हाइवे तथा ग्रामीण रुटहरुमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई जरिवाना तथा कारबाही गरिँदै आएको प्रहरीले जनाएको छ ।