- दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य
- ४ करोड ७० लाख लागत
माण्डवी (प्यूठान) : माण्डवी गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । भवनको बुधवार प्रदेशसभा सदस्य हरी रिजालले शिलन्यास गरे । वडा नम्वर ३ स्थित जस्पुरमा भवन निर्माण थालिएको छ ।
शिलन्यास कार्यक्रममा प्रदेश सभा सदस्य हरि रिजाल, गाउँपालिका अध्यक्ष श्रीधर रोकामगर सहित ।
दुई वर्षमा निर्माण कार्य सक्नेगरी आँशुमल्लरानी÷पिपि जेभीले निर्माणको जिम्मा पाएको छ । कुल लागत भ्याट बाहेक चार करोड ७० लाख रुपैयाँमा निर्माण पुरा गर्ने सम्झौता भएको निर्माण व्यवसायी बालाजु श्रेष्ठले जानकारी गराए । उनका अनुसार दुई तलाको भवनमा २२ वटा कोठाहरु निर्माण हुनेछन् ।
गाउँपालिका हाल नयाँगाउँस्थित भाडाको भवनबाट संचालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिए । नयाँ भवन निर्माणपछि गाउँपालिकाको विषगत शाखा संचालन र दैनिक प्रशासनिक कामकाज गर्न सहज हुने उनले बताए । बाँकी कार्यकालभित्र गाउँपालिकाको कार्यालय नयाँ भवनबाट सेवा प्रारम्भ हुने गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताए ।
भवन निर्माणका लागि स्थानीयले २२ रोपनी क्षेत्रफल जग्गा निःशुल्क दिएको उनले बताए । यसै क्षेत्रफलभित्र इलाका प्रशासन कार्यालय, मालपोत, नापी कार्यालयको भवन निर्माण गर्ने समेत लक्ष्य रहेको रोकामगरले बताए । त्यसपछि नागरिकले एकै स्थानबाट सवै सरकारी सेवा पाउनेछन् । गाउँपालिकाले हाल मासिक ३४ हजार रुपैयाँ घरभाडा बुझाउँदै आएको छ ।
यस्तो बन्ने छ नयाँ भवन :
नयाँ बन्ने भवन