प्यूठान : प्यूठान नगरपालिका ८ दम्तीमा निर्माणधिन सबस्टेशनका सम्पर्क विहिन ठेकेदारलाई निर्माण सम्पनन गर्न ताकेता गरिएको छ । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले सबस्टेशन निर्माण कार्यमा कुनै प्रगति नदेखिएको बताउँदै यथाशिघ्र निर्माण कार्य अगाडि बढाउन श्री त्रिपुरेश्वर कन्डक्टर जय दुर्गे जेभीलाई चेतावनी सहित ताकेता गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी गराए ।
‘मैले तीन महिनामै बाँकी काम सकाउन निर्देशन दिएको थिए’, भुसालले भने, ‘तर निर्माण कम्पनी तथा ठेक्का लगाउने कार्यालयको भूमिका तथा जिम्मेवारीप्रती उनीहरु नै प्रतिवद्ध नभएको जस्तो लाग्यो ।’ यस पटकको ताकेतामा नेपाल विद्युत प्राधिकरणको विनियम तथा बोलपत्रको डकुमेन्ट व्यवस्था वमोजिम कारवाही अगाडी बढाउने समेत चेतावनी दिइएको छ । ३२ केभिए डबल सर्किट लाइन विस्तारको काम तथा ११ केभिएको फिडरको काम जय दुर्गे जेभिले पूरा नगरेको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन प्रमुख सुरज गौतमले जानकारी दिए ।
सबस्टेशनको काम लम्बिदै जाँदा प्रमुख जिल्ला अधिकारी भुसालले गएको मंसिर महिनामा निर्माण कम्पनीलाई तीन महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । ठेकेदार ६ महिना बित्दा समेत सम्पर्कमा आएनन् । अहिले प्यूठानमा ३३ केभिएबाटै वितरण लाइन व्यवस्थापन भएको छ । सबस्टेशन संचालनमा आए ११ केभिएबाट लाइन वितरण हुन्छ । सबस्टेशन संचालनमा ढिलाई हुँदा प्यूठानीहरु अनियमित विद्युत्तको हैरानीले प्रताडित छन् ।