प्यूठान : दयालु मनका लिला जिसी, जसले विपन्नको पीडामा आँखा चिम्लेर बस्न मान्दैनन् । झिमरुक गाउँपालिका १ बालुवा प्यूठानका ३५ वर्षिय जिसी हिजोआज मात्र होइन् वर्षौ अघिदेखि नै सामाजिक काममा तल्लिन छन् । स्वदेशमा मात्र होइन् उनको सामाजिक कर्म विदेशीभूमीमा रहँदा पनि उत्तिकै सक्रिय रह्यो ।
विपत्तिमा अन्य घरपरिवारको तुलनामा विपन्न परिवार धेरै पीडामा हुन्छन् । उनै विपन्न परिवारको सारथी बनेर उभिँदै आएका छन् जिसी । गत वर्षको कोरोना महामारीमा उनले झिमरुक गाउँपालिकाका विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरे । यसपालीको कोरोनामा पनि उनले गाउँपालिकाका एक सय विपन्न परिवारलाई एक÷एक बोरा २५ किलो चामल गाउँमै पुगेर वितरण गरेका छन् । नागरिकको सेवा गर्ने सरकारको दायित्व हो भन्नेहरु पनि छन्, तर जिसी सरकारको सहयोगी बनेर आफ्नो समाजप्रतिको दायित्व निर्वाह गरिरहेका छन् ।

कोरोनाको चपेटामा परेर श्रम गर्न नपाएर जिविकोपार्जनमा समस्या परेका नागरिकहरुको खोजी गरेर जिसीले राहत स्वरुप चामल दिएका हुन् । ‘कसैसँग पनि सहयोग नउठाएर व्यक्तिगत रुपमा सहयोग गरेका हौँं’, जिसीले भने,‘गरिब र दिन दुःखीलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्दो रहेछ ।’
गाउँपालिकाका ९ वटै वडाका विपन्न नागरिकहरु समेटिने गरी उनले राहत स्वरुप चामल वितरण गरेका छन् । चामल पाएपछि विपन्न नागरिकहरु हौसिएका छन् । कोरोनाले काम गर्न नपाइरहेको बेला गाउँमै आएर चामल दिँदा धेरै राहतको महशुस मिलेको भिमरुक गाउँपालिका ४ बांगेका पूर्ण बहादुर जिसीले प्रतिक्रिया दिए । जसीले नौवहिनी गाउँपालिकाको स्याउलिबाङका पहिरोमा अभिभावक गुमाएकी कुमारी मल्ल परिवारलाई समेत ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
दश वर्ष वैदेशिक रोजगारीको शिलशिलामा खाडीमुलुक कतारबाट फर्किएका जिसी दुःख कष्ट गरिबी र अभावको पीडालाई नजिकदेखि बुझेको अनुभव सुनाए । उनले कतारमा रहँदा समेत समाचारहरुमा विपन्नका खवर पढ्दा सहयोग पठाउने गर्दथे । राजनीतिमा समेत सक्रिय जिसी नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य समेत हुन् । आफूले गर्ने सहयोग राजनीति पूर्वाग्रहसँग कहिल्यै नजोड्ने जिसीले प्रतिक्रिया दिएका छन् ।