प्यूठान : कृषि विकास बैंकको शाखा बिजुवारमा विस्तार गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले संयूक्त रूपमा उद्घाटन गरे । नेपालको पुरानो बैंकको रुपमा स्थापित बैंकले प्रतिस्पर्धी बैंकहरुको भिडमा जनताको भावना तथा चाहना बमोजिम आफूलाई परिस्कृत गर्दै अघि बढ्नुपर्नेमा नगरप्रमुख कक्षपतिले जोड दिए ।
बैंकले आर्थिक क्रियाकलाप चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए । बैंकले बचत तथा ऋण, निक्षेप संकलन, आधुनिक बैंकिङ प्रणाली, बैंक ग्यारेन्टी, विभिन्न किसिमका कर्जामा लगानी गर्ने जनाएको छ ।
व्यवसायिक कृषि क्षेत्रको विकासका लागि बैंकले प्रमुख प्राथमिकता साथ काम गरिरहेको शाखा प्रबन्धक नुम बहादुर रायमाझीले बताए । उद्घाटन कार्यक्रममा प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लक्ष्मी प्रकाशराज भण्डारी, प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपती, होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष गञ्ज बहादुर थापा, निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपती नारायण नकर्मी लगाएको सहभागीता थियो । जिल्लामा बैंकको शाखा कार्यालय सदरमुकाम खलंगा र स्वर्गद्धारी नगरपालिका भिंगृमा पनि संचालनमा छ ।