प्यूठान : व्यवसायीक संगठनमा साझा र सवैले स्वीकार गर्ने खालको नेतृत्वको व्यवसायीले चाहिरहेको प्यूठान वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताएका छन् । सरुमारानी गाउँपालिका बडडाँडा प्यूठानको बजार इलाकाको १४ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनको उद्दघाटन गर्दै कक्षपतिले भने, ‘उद्योग वाणिज्य संघ विसुद्ध उद्योगी व्यवसायीहरुको संगठन हो । साझा बनाउन सवैले जोड गरौँ ।’
व्यवसायीहरुको हक हित तथा अधिकारका लागि पैरवी गर्ने सस्थामा अस्वस्थ राजनैतिक प्रभाव हुन नहुनेमा उनले जोड दिए । ‘कोरोनाको दुबै चरणमा संघले जिल्लामा प्रभावकारी भूमिका खेलेको थियो’, कक्षपतीले भने, ‘संघकै पहलमा करिब २५ सयलाई भ्याक्सिन नै लगायौँ ।’ संस्थागत हितका लागि संघमा इमान्दारिताका साथ काम गर्नु पर्ने उनले बताए ।
कार्यक्रममा विशेष अतिथि सरुमारानी गाउँपालिका उपाध्यक्ष मिना कुमारी सोमैले आगामी दिनमा स्थानीय सरकारसँग तालमेल तथा समन्वय गर्दै संघलाई अघि बढ्न सुझाव दिइन् । अधिवेशनमा सचिव नमराज रानाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष योगेश सारु मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
अधिवेशनबाट योगेश सारु मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा नमराज राना, सचिवमा किसान सारु मगर, कोषाध्यक्षमा भरत एम.सी, सह–सचिवमा पुष्पराज न्यौपानेलाई चयन गरेको छ । सदस्यहरुमा बलिराम सुनार, सरिता सोमै तथा अतिउल्लाह हलुवाई रहेका छन् । रिक्त तीन सदस्य पदमा समितिको बैठकद्वारा मनोनित गर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत तथा प्युठान उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष मुक्ति पोखरेलले जानकारी दिए ।