प्यूठान : संविधानसभा सदस्य तथा एमाले नेता धन बहादुर रायमाझीले सहकारी मार्फत कृषिमा व्यवसायिकरण गर्नुपर्नेमा जोड दिएका छन् । सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बाङ्गेशालको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको उद्धघाटन गर्दै उनले भने, ‘सहकारी बचत तथा ऋणको कारोबारमा मात्रै सीमित हुनुहुँदैन । यहाँका किसानहरूको जीवनस्तर उकास्ने गरि लाग्न पर्छ ।’
कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरणमा विशेष योजनाका साथ अघि बढ्न सहकारीलाई रायमाझीले आग्रह गरे । देशको आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र तथा सहकारीको भूमिका महत्वपूर्ण हुने उनले बताए । सभामा सहकारीका अध्यक्ष टंक जिसीले अध्यक्षको प्रतिवेदन, प्रबन्धक निमराज आचार्यले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले आर्थिक वर्ष ०७७÷०७८ मा १ करोड ४० लाख २ हजार ५ सय २४ रुपैयाँ नाफा गरेको प्रबन्धक आचार्यको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले ०७७÷०७८ मा ३ करोड ६९ लाख ११ हजार रुपैयाँको कारोबार गरेको छ । लेखा समिति संयोजक शिव प्रसाद घिमिरेले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले कुलदीप जिसिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बसन्ता खड्का, सदस्यहरुमा उदय बहादुर केसी, नारायण बहादुर गरुङ, चिन्ता बहादुर लोसार, भूमिराज पोख्रेल, माधव पोख्रेल, विष्णुप्रसाद घिमिरे, विमला अधिकारी, प्रेम बहादुर गुरुङ चयन भएका छन् । मनोनित सदस्यमा नर्मदा गिरी, इन्द्रमोहन आमात्य विमला सुनार छन् । कार्यक्रममा विशिष्ट अतिथीको रूपमा सरुमारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, सानाकिसान लघुवित्त वित्तीय संस्था इलाका कार्यालय नेपालगंजका वरिष्ठ अधिकृत विष्णु प्रसाद कालाथोकी लगायतका उपस्थिति रहेको थियो ।