प्यूठान : प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको अध्यक्षमा यूवा व्यवसायी प्यार अलि खाँन निर्विरोध निर्वाचित भएका छन् । बजार क्षेत्रको १७ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट खाँनको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको हो । खाँनले यसअघि सरुमारानी बजार इलाकाको सचिव र कोषाध्यक्षमा रहेर काम गरेका थिए ।
उपाध्यक्षमा खेमराज सुवेदी, सचिव कमल पौडेल, सहसचिव प्रशुजता जिसी अधिकारी र कोषाध्यक्षमा रोहिणीराज पोख्रेल सर्वसम्मत चुनिए । सदस्यमा सम्भु श्रेष्ठ, टुकलाल न्यौपाने, विष्णु न्यौपाने र तीन जना पछि मनोनित गर्ने निर्णय भएको अध्यक्ष खाँनले बताए । कार्यसमिति ११ सदस्यको हुने छ ।
अधिवेशनले जिल्ला प्रतिनिधिमा चेतनाथ योगी, प्रदिप कर्माचार्य तथा निरज श्रेष्ठलाई निर्विरोध निर्वाचित भएका छन् ।
प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले संघ विसुद्ध व्यवसायिक संगठन रहेको बताउँदै उद्योगी व्यवसायीहरुको हक हित र अधिकारका लागि सदैव प्रतिबद्ध रहने उल्लेख गरे । जिल्लाभरमै सर्वसम्मत रुपमा नेतृत्व चुन्ने अभियानमा संघ रहेको व्यवसायीहरुले बताए ।