प्यूठान : किसानहरुका लागि अनुदानमा आएको मलमा गिद्धे नजर परेको छ । सहकारीले तोकेको विक्रेता सीता केसी जिसीले बढी मूल्यमा यूरिया मल बिक्री गर्न बाहिर पठाएको स्थानीयहरुको आरोप छ । प्यूठान नगरपालिका–९ मरनठानामा रहेको श्री दीर्घायु कृषि सहकारीका लागि आएको अनुदानका यूरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि पठाउँदै गर्दा मगंलबार प्यूठान नगरपालिका वडा नं ८ बाग्दुला नजिकैबाट प्रहरीले बरामद गरेको छ । लु १ च ६१७१ नम्बरको डबल पिकअप जिपमा मल बाहिर लगिँदै गर्दा बरामद गरिएको हो ।
जिप चालक शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री तथा सोही ठाउँका केशर महतरालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी ठाकुर प्रसाद गैरेले जानकारी दिए । सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको विक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘हामीले एकटकलाई सम्झाइबुझाई गरेका छौं’,केसीले भने, ‘सहकारीमा मलको अभाव छैन ।’ सहकारीको कार्य क्षेत्र वडा नं ९ तथा १० रहेको उनले बताए ।