बाग्लुङ : गलकोट नगरपालिका ७ मल्ममा एक दिने निशुल्क आँखा शिविरमा दुर्गमका नागरीक लाभांवित भएका छन् । घुम्टे यूवा परिवार गलकोटको आयोजनामा शिविर चलेको हो । वडा नं ७ र गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाले शिविरको सहकार्य गरेका थिए । मल्म सप्ताहघाटमा सञ्चालन भएको शिविरमा दुइ सय ४४ जनाले निःशुल्क आँखा चेक जाँच गराएका छन । शिविरमा १८ जनामा मोतिया विन्दु, दुइ जनामा जलविन्दु र एक सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या देखिएको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए ।

शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यक्रिया गर्न विरामीलाई सुझाव दिइएको खत्रीले बताए । दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चस्मा वितरण गरिएको छ । सामान्य समस्या देखिएकालाई औषधी निःशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ । ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले बताए । शिवर सञ्चालनका लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेत हाल जापानमा कार्यरत दिदी÷भाई सुवास खत्री र शोभा खत्रीले २० हजार सहयोग गरेको उनले जानकारी दिए । स्थानीय स्तरमा निःशुल्क शिविर सञ्चालन गर्दा आम नागरिकको सेवामा राहतको महशुस गरिएको वडा अध्यक्ष टिका बहादुर थापाले बताए ।