- कार्यकर्ताको प्रश्न, झिमरुकमा मात्र ह्वीप किन ?
प्यूठान : स्थानीय स्तरमा मित्रबत रुपमा एक्लाएक्लै चुनाव लड्ने लिखित सहमती गरिरहेका बेला लुम्विी प्रदेश स्तरीय गठवन्धनले पदको भागवण्डा सहित ह्वीप जारी गरेपछि झिमरुक गाउँपालिकामा तिब्र असन्तुष्टि देखिएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रभागमा राखेर गरिएको ह्वीप जनताको जनमत अनुसार नभएको सत्ता गठवन्धनका नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।
‘ऐरावतीमा गाउँपालिकामा पनि एक्लाएक्लै चुनाव लड्ने गठवन्धनमा सहमती भएको छ’,नेपाली कांग्रेस झिमरुक ४ का नेता जगत जिसीले भने,‘त्यहाँ ह्वीप नहुने झिमरुकमा हुने यो कस्तो खालको तानाशाही हो ?’ उनले तल्लो तहमा कार्यकर्ताहरुको भावना नबुझी माथीबाटै लाद्न खोजिनु राम्रो नभएको प्रतिक्रिया दिए । ‘गठवन्धन हुनुपर्छ त्यसमा हाम्रो आपत्ती छैन्’,जिसीले भने,‘तर जबरजस्ती ह्वीप लगाउनु जनभावना अनुसार छैन् ।’
लुम्विनी प्रदेशस्तरीय गठवन्धनले शुक्रवार साँझ झिमरुकमा राष्ट्रिय जनमोर्चालाई गाउँपलिका अध्यक्ष सहित चार वटा वडा अध्यक्ष, नेकपा माओवादी केन्द्रलाई उपाध्यक्ष सहित एक वटा वडा अध्यक्ष र नेपाली कांग्रेसलाई तीन वटा वडा अध्यक्ष पाउने गरी भागवण्डा गरेर परिपत्र गरेको हो । परिपत्र सार्वजनिक भएलगत्तै झिमरुक क्षेत्रमा यसको चर्को विरोध शुरु भएको छ ।
‘देशभरीमै झिमरुकमा मात्र किन ह्वीप जारी गर्नुपर्ने अवस्था आयो ?’,अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एवं झिमरुकबासी माओवादीका यूवा नेता मिलन एमसीले भने,‘यस्तो खालको अवस्थाले गठवन्धनमै समस्या आउने देखिन्छ ।’ झिमरुक बाहेक प्यूठानका अन्य कुनैपनि स्थानीय तहमा प्रदेश र केन्द्रले ह्वीप गरेको छैन् । समान्नत अवस्था रहेको ऐरावतीमा सवै दल एक्लाएक्लै लड्ने अवस्था सृजना भएको ऐरावती गाउँपालिका उपाध्यक्ष एवं माओवादीका नेता बुद्ध बहादुर बस्नेतले जानकारी गराए ।
झिमरुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहको गृह गाउँपालिका पनि हो । उनी हाल ओखरकोटमै बसेर चुनावी रणनीति बनाइरहेका छन् । नेकपा मसाल यसपालीको निर्वाचनमा देशभरमै झिमरुक गाउँपालिकालाई आफ्नो अस्तित्वका रुपमा जोगाउन चाहान्छ । महामन्त्रीकै गाउँ भएकाले पनि झिमरुकको सत्ता पूनः आफ्नो नेतृत्वमा लिन मसाल र त्यसको चुनावी मोर्चा राजमोको जोड छ । तर, त्यो जोड मसाल बाहेकका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेले तोड्न चाहान्छन् । सत्ता गठवन्धनकै दलबाट पटकपटक मसालसँग चुनावी तालमेल नगर्ने लिखित निर्णय गर्दापनि मसालको जोडबलमै केन्द्र र प्रदेशले स्थानीय स्तरमा दबाव दिइरहेको नेताहरुले प्रतिक्रिया दिए ।
‘स्थानीय जनमत एकातिर छ, प्रदेशले निर्णय अर्को गर्छ’,ओखरकोटका माओवादी समर्थक यूवा प्रदिप जिसीले भने,‘स्थानीय चुनावमा स्थानीयकै भावना अनुसार पार्टीले ह्वीप लगाउनुपर्छ । कुनै ठाउँ विशेषलाई मात्र टार्गेट गरेर यस्तो गरिनुहुँदैन्, सवै ठाउँमा भएको भए यहाँका जनताले चित्त बुझाउने थिए ।’ जनताको अभिमतलाई कुण्ठित नगरी विवेकपूर्ण निर्णय गर्न समेत उनले नेतृत्वलाई सुझाए ।
जिल्लामा भागवण्डा मिलाउन नसकेपछि प्रदेशबाट परिपत्र आएको नेपाली कांग्रेस प्यूठानका सभापती विष्णुकुमार गिरीले जानकारी गराए । झिमरुकमा मात्र परिपत्र किन ? भन्ने प्रश्नमा गिरीले जवाफ दिए,‘सायद आफ्नो वर्चश्व कायम राख्नका लागि राजमोका साथीहरुको रिर्पोटिङका आधारमा प्रदेशले निर्णय गरेको हुनसक्छ ।’