बुटवल : सनराइज बैंक लिमिटेड योगीकुटी शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै शुद्धोधन गाउँपालिका–७ मटेरिया रुपन्देही स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि निःशुल्क आँखा शिविर संचालन गरेको छ । सोमवार बैंकले रुपन्देहीको तिलोत्तमा आई केयरको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । शिविरमा विद्यार्थी, शिक्षक र अभिभावक गरी २ सय ४१ जनाले आँखाको परीक्षण गराएका छन् ।
शिविरमा चेकजाँचसँगै चश्मा र औषधी समेत वितरण गरिएको सनराइज बैंक लिमिटेड योगीकुटी शाखाका प्रबन्धक नविन थापाले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक क्षेत्रका थप कार्यक्रमहरु संचालन गर्ने योजनामा रहेको समेत सुनाए ।

शिविरमा बैंकका लुम्बिनी प्रदेश प्रमुख सुनिल मण्डल र विद्यालयका प्रधानाध्यापक सरस्वती साहनीले निःशुल्क शिविरले कमजोर आय भएका शिक्षक विद्यार्थी र अभिभावकहरुलाई सहज भएको प्रतिक्रिया दिए । सनराइजले हाल देशभर १ सय ३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ६२ वटा ए.टि.एम मार्फत दश लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।