गुल्मी : गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीका गन्धर्व दाजुभाइको गुजारा दश वर्षदेखि सारंगी बजाएर चलेको छ । सारंगी बजाएर गीत गाउनका लागि उनीहरुका बुवा विर बहादुर गन्धर्व गाउँमा चर्चित थिए । बुवाले थालेको पुर्खयौली पेशालाई उनीहरुले निरन्तरता दिँदै आएका हुन् ।
नयाँ पुस्ताले खोजे अनुसारको संगीत भर्न नसकेपनि आफ्नो जीविकाको लागि जसोतसो उनीहरुले कर्म गर्न छाडेका छैनन् । ६० वर्षिय दुर्ग बहादुर गन्धर्व र उनका ५८ वर्षिय भाई बाबुराम गन्धर्व इस्मा र मालिका गाउँपालिकाको घर घरमा पुगेर सारंगी रेट्छन् ।
‘गाउँमा लाहुरेहरु आउँदा कहिलेकसो १५ सय पनि कमाइ हुन्छ’,दाई दुर्ग बहादुरले भने,‘धेरैजसो दिन २/४ सयमै चित्त बुझाउछौ ।’ लोपहुँदै जान थालेको सारंगी बजाउनका लागि सरकारले सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् । मौलिक संस्कृति बचाइराख्नका लागि आफूले धेरै योगदान दिएको उनीहरुको दाबी छ । आफूहरुले सक्दासम्म यसै पेशालाई निरन्तरता दिने दाजुभाईले सुनाए ।