प्यूठान : प्यूठानकै सवैभन्दा अग्लो पहाडी भेग नौवहिनी गाउँपालिका १ स्याउलीवाङबाट आएको स्थानीय आलु खरिद गर्नका लागि ग्राहकको सोमवार तछाडमछाड चल्यो । सोमबार बिजुवारमा स्याउलीवाङको आलु किसानले विक्रीका लागि लिएका थिए ।
चिसो हावापानी तथा उच्च पहाडी भेगमा उत्पादन भएको आलु स्वादिष्ट हुने भएकोले ग्राहकको भिड नै लागेको हो । शहरमा बसेकालाई गाउँको अर्गानिक आउँदा भिड नलाग्ने कुरै थिएन् ।
नौवहिनी–१ का स्थानीय नीम बहादुर पुनले ट्याक्टरमा करिब ३५ क्वीन्टल आलु बिक्रीका लागि ल्याएका थिए । प्रति केजी ५० रुपैयाँमा आलु बिक्री गर्न उनलाई कुनै समस्या भएन् । ग्राहकको खोसाखोस भयो ।
गाउँकै प्राङ्गारिक मल प्रयोग गरी अर्गानिक आलु खेती गर्दै आएको उनले सुनाए । परम्परागत रूपमा बेमौसमी आलुखेती गर्दै आएका स्याउलीवाङका अगुवा किसानहरूले यसपाली व्यवसायिक रूपमा आलु खेती तर्फ आकर्षित भएको पुनले बताए । ‘आलुले राम्रो मूल्य पाएको छ’,पुनले भने, ‘खेतीलाई अझै फैलाउने सोँचमा छु ।’
स्याउलीवाङको आलुलाई ब्रान्डिङ गर्नतर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेलले बताए । व्यवसायिक रूपले आलु उत्पादन बढाउन किसानलाई स्थानीय सरकारले सहायता प्रदान गर्नसमेत उनले सुझाए ।