बुटवल : बुटवल उद्योग वाणिज्य संघको सोमवार साँझ ५ बजे सम्पन्न मतदानमा ८४ प्रतिशत भन्दा बढी मत खसेको छ । कुल मतदाता १ हजार ७ सय ७८ जनामध्ये १ हजार ५ सय ६ जनाले मतदान गरेको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
नीजि क्षेत्रको सवैभन्दा ठूलो संस्था संघको नयाँ नेतृत्वका लागि दुई समूह प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए । ७० औँ वार्षिक साधारणसभा तथा २५ औँ अधिवेशनमा संघका पूर्व वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल र मौजुदा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठबीच प्रतिस्पर्धा भएको छ ।
अध्यक्षका प्रतिस्पर्धी दुवै जना नेपाली कांग्रेस निकट हुन् । अर्याल नेतृत्वको प्यानलमा नेपाली कांग्रेस सहित नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसँग नजिक रहेका व्यवसायीहरुको साथ छ भने श्रेष्ठको प्यानलमा कांग्रेसको संस्थापन समूहको साथ रहेको देखिएको छ ।
श्रेष्ठलाई बुटवलका नेवार समूदायका व्यवसायीहरु र अर्याललाई पहाडी क्षेत्रबाट बुटवल झरेका व्यवसायीहरुको साथ रहेको दाबी आ–आफ्नो छ । अर्यालको पुख्र्यौली घर मदाने गाउँपालिका सिर्सेनी गुल्मी र श्रेष्ठको रिब्दीकोट गाउँपालिका पाल्पा हो । अर्याल २४ औँ अधिवेशनमा पनि अध्यक्षमा चुनाव लडेर उपविजेता भएका थिए ।