बुटवल : बुटवल उद्योग वाणिज्य संघको २५ औँ अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् । मंगलवार विहान सम्पन्न मतगणना अनुसार अर्यालले प्रतिस्पर्धी दिनेश प्रसाद श्रेष्ठलाई ८७ मतले पछिपार्दै विजयी भए । उनले ७ सय ७६ र श्रेष्ठले ६ सय ८९ मत लिएका छन् ।
विजयी भएका श्रेष्ठ बुटवलका पुस्तक व्यवसायी हुन् । २४ औँ अधिवेशनमा उपविजेता भएका अर्यालको यसपालीको अध्यक्ष हुने प्रयास सफल भएको छ । नेपाली कांग्रेस निकटका उनलाई एमाले, राप्रपा र एकीकृत समाजवादीसँग नजिकका व्यवसायीहरुले साथ दिएका थिए । बुटवल उद्योग वाणिज्य संघ नीजि क्षेत्रको सवैभन्दा ठूलो संस्था हो ।
संघको बरिष्ठ उपाध्यक्षमा टंक प्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन् । उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मूक्ती प्रसाद अधिकारी, कोषाध्यक्ष बसन्त प्रसाद ढकाल, सचिव प्रतिक पोखरेल र सह कोषाध्यक्षमा धनकुमारी खनाल (सबिता) निर्वाचित भएका छन् । १ हजार ७ सय ७८ जना मतदातामध्ये १ हजार ५ सय ६ जनाले मतदान गरेको थिए ।
सुस्ताउँदै जान थालेको उद्योग व्यवसायलाई चलायमान बनाउनका लागि सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अर्यालले प्रतिक्रिया दिए ।