बुटवल : कात्तिक १५ देखि २५ गतेसम्म संचालन हुने प्रथम गुल्मी महोत्सवमा करिव १ अर्वको आर्थिक कारोवार लक्ष्य रहेको आयोजकले जनाएको छ । सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजक गुल्मी उद्योग संघले महोत्सवबारे जानकारी गराएको हो ।
जिल्लाको पर्यटन र उद्योगी व्यवसायीहरुको प्रवद्र्धनका लागि पहिलोपटक महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए । रेसुंगा नगरपालिका ९ तम्घासथान मन्दिर परिसरमा संचालन हुने महोत्सवमा तीन सय बढी स्टलहरु रहने भुसालले जानकारी गराए । त्यसमध्ये ५० वटा स्टलहरु जिल्लाका स्थानीय उत्पादनहरुको बजारीकरणका लागि निःशुल्क उपलव्ध गराइने छ ।
गुल्मीमा हाल सानाठूला गरी करिव १ हजार ५ सय वटा उद्योग, व्यवसायहरु संचालनमा छन् । साना तथा मझौला उद्योगहरुको मेला महोत्सवको माध्यमबाट प्रवद्र्धन गर्नका लागि महत्वपूर्ण भूमिका हुने आयोजकले अपेक्षा गरेको छ ।
गुल्मी पर्यटन क्षेत्रका लागि अझ बढी परिचित छ । पशुपतीनाथ मन्दिरपछिकै पुरानो मन्दिरको रुपमा उपल्लो तम्घासमा रहेको तम्घासथान मन्दिरलाई लिइने गरिएको आयोजकले दावी गरेको छ । तम्घासथान मन्दिरको बाटोहुँदै विहे गरेर जाने÷आउने जोडीले अनिवार्य एक वर्षभित्रमा पूँजाआजा गरी बली चढाउने गर्छन् । मन्दिरमा पूँजाआजा गरेपछि जोडीको सम्वन्ध दिगो हुने समेत विश्वास छ ।
‘उद्योग, कृषि र पर्यटनमा उनिएको थुँगा, समुन्नत गुल्मीका लागि जाउँ हिँड रेसुंगा’ भन्ने नारा सहित संचालन हुने महोत्सवले जिल्लाको प्रमुख धार्मिक गन्तव्य रेसुंगा सहितका अन्य पर्यटनस्थलहरुको समेत प्रचार प्रसार गर्नेछ ।