बुटवल : राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटेको टोलीले भारतको नाकाबाट लुकिछिपी ल्याउँदै गरेका मोवाइलमा प्रयोग गरिने टेम्पर ग्लास नियन्त्रणमा लिएको छ । शुक्रवार भारतीय ३८ वर्षिय एक नागरिकले लु ३ च ३१३५ नम्बरको तरकारी बोक्ने गाडीमा ११ लाख १७ हजार ५ सय १० रुपैयाँ बरावरको टेम्पर ग्लास बुटवलतर्फ ल्याउँदै गर्दा चरंगेस्थित औद्योगिक क्षेत्रबाट प्रक्राउ गरिएको हो । भारतीय नाकाबाट ओसारपसार गरेका अवैध सामानहरु बुटवल, भैरहवा लगायतका शहरमा नागरिकहरुले विक्री गर्ने गर्छन् ।
बुटवलको हाटबजारमा तरकारी लिन जाने गाडीमा तरकारीका क्यारेटमा उक्त सामान लुकाएर राखिएको अवस्थामा फेला पारिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पशुपतीबाबु पुरीले जानकारी दिए । मनोज नाम भएका ती भारतीय यूवा र गाडीको जरिवाना सहित कुल २२ लाख २६ हजार २ सय ६५ रुपैयाँ धरौटीमा छाडिएको र थप अनुसन्धान भइरहेको पुरीले जानकारी गराए ।
राजश्व अनुसन्धानबाट खटेको उक्त टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बसन्तपुरबाट ३ लाख ३० हजार रुपैयाँ बरावरको अवैध चक्लेट समेत बरामद गरेको छ । भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको लु ३ च १८८९ नम्वरको पिकअप भ्यानबाट डेरी मिल्क, स्नीकर, खजुर लगाएतका अबैध चक्लेटहरु बरामत गरिएको पुरीले बताए ।