बुटवल : भारतीय सिमानाकाबाट लुकिछिपी अवैध रुपमा ल्याएको १ सय २ बोरा चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटेको विशेष टोलीले बरामद गरेको छ । मंगलवार विहान १ बजे विशेष सुराकीको आधारमा खटेको अनुसन्धान टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–५ गौरीबाट स्थानीय निसाद ओली लगायत पाँच जनाको घरबाट प्रतिबोरा ५० किलोको उक्त परिणामको चिनी बरामद गरेको हो ।
नेपाली बजार मूल्य अनुसार बरामद गरिएको चिनीको मूल्य चार लाख ८ हजार रुपैयाँको रहेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पशुपतीबाबु पुरीले जानकारी दिए । एउटा पिकअप भ्यान गाडी र एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरिएको पुरीले बताए ।
पछिल्लो समय रुपन्देही क्षेत्रमा भारतीय सिमानाकाबाट अवैध रुपमा चोरी, तस्करीहरु बढ्दै गएको र राजश्व अनुसन्धानको टोलीले चुहावट नियन्त्रणमा सक्रियता देखाएको छ ।