प्यूठान : प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रले घर धनीहरुलाई घर बहाल तत्कालको अवस्थामा नबढाउन आग्रह गरेको छ ।
देशभर आर्थिक मन्दीको कारण व्यापार व्यवसायमा उल्लेखनीय सुधार नआएकाले दोहोरो सहमती नहुँदासम्म एकतर्फी घर बाहल नबढाउन अनुरोध गर्ने निर्णय गरिएको बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले जानकारी दिए ।
‘आफू खुशी २० प्रतिशतसम्म घर बहाल बढाएको देखियो’,खाँनले भने, ‘व्यापार व्यवसाय चौपट छन्, दिनहुँ व्यापारीहरु पलायन हुँदैछन्, यस्तो अवस्थामा घर बहाल वृद्धि गर्नु सान्दिर्भकता छैन् ।’
प्यूठान नगरपालिका भित्र विशेष गरी विजुवार तथा बाग्दुला बजार क्षेत्रमा रहेका ब्यापारिक प्रतिष्ठान रहने घर धनीहरुले भाडामा अस्वभाविक वृद्धि गर्ने गरेको व्यवसायीहरुले गुनासो गर्ने गरेको बजार क्षेत्रका सचिव कमल पौडेलले बताए ।
‘भाडा वृद्धि दरमा कतै १० प्रतिशत कतै २० प्रतिशत कायम गरिएको छ’,पौडेलले भने, ‘व्यापार व्यवसाय अलि सहज अवस्थामा नआउँदासम्म घरबेटीहरुले भाडा बृद्धि नगराईदिँदा राम्रो हुने थियो ।’
प्यूठान नगर पालिकाको बाग्दुला पुल्चोक बजार तथा उपल्लो बजार सडक छेउमा मासिक २० देखि ३५ हजारसम्म सटरको भाडा कायम गरिएको छ । भाडाका लागि बजार क्षेत्रका घरहरूमा ३ हजार देखि ५ हजारसम्म कोठाको भाडा लिइँदै आएको व्यवसायीहरुले बताए ।