बुटवल : बुटवलको पर्यटन प्रवद्र्धन र सुस्ताएको बजारलाई चलायमान बनाउने उद्देश्यले होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ खाना महोत्सव गर्ने भएको छ । बुटवलको तिनकुनेदेखि बसपार्कसम्म शनिवारदेखि तीन दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवबारे शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लेखनाथ भण्डारीले थिचोमिचोमा परेको होटल क्षेत्रको प्रवद्र्धनमा महोत्सव कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
‘होटल व्यवसायीहरु दिनप्रतिदिन पलायन हुने क्रम बढ्दो छ’,भण्डारीले भने,‘सरकारले होटल व्यवसायीहरुलाई अपेक्षा अनुसार सहयोग गरेको छैन् । भैरहवामा खुलेको अन्तराष्ट्रिय विमानस्थलले समेत व्यवसायीलाई झुक्कायो ।’ विमानस्थल खुलेको देखेर संचालनमा आएका थुप्रै होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु अहिले धराशायी बन्न पुगेको उनले दुःखेसो सुनाए ।
खाना महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ आर्थिक कारोवार हुने लक्ष्य राखिएको संघका महासचिव अर्जुन थापाले बताए । मगर, गुरुङ, नेवारी, थकाली लगायत जातीका खानाका परिकार सहित एक सय वटा विभिन्न प्रकृतिका स्टलहरु रहने छन् । साँझ ६ बजेदेखि राती १२ बजेसम्म महोत्सव चल्ने छ । विभिन्न जातजातीका साँस्कृतिक पहिचान झल्कने झाँकीहरु प्रदर्शन र बुटवलमा रात्रीकालिन बजारको संभावना र चुनौतीका बारेमा समेत महोत्सवमा छलफल चलाउने आयोजकले तयारी गरेको छ । फराकिलो सडकपछि रात्रिकालिन व्यवसायका लागि बसपार्कदेखि होराइजचोकसम्मको क्षेत्र पछिल्लो समय व्यवसायीहरुको रोजाइको केन्द्र बनेको छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न खानाका परिकार र सँस्कृतिहरु प्रदर्शनका लागि आमन्त्रण गरिएको संघले जनाएको छ । २०७५ सालदेखि संघले बुटवलमा सडक खाना महोत्सव संचालन गर्दै आइरहेको छ ।