प्यूठान : बजार क्षेत्रको अतिक्रमित सडक खुलाउन प्यूठान नगरपालिका बल्ल तातेको छ । जिल्लाकै अति व्यस्त प्रमुख व्यापारिक केन्द्र प्यूठान नगरपालिका वडा नं ८ स्थित उपल्लो बाग्दुला बजारको अतिक्रमित सडक खुलाउन प्यूठान नगरपालिकाका मेयर विष्णु योगी, उपमेयर देवेन्द्र ब्रह्मा वडा अध्यक्ष पदम थापा डोजर नै लिएर सडकमा उत्रिए ।
अतिक्रमित सडक विस्तार गर्न खोज्दा केही स्थानीयहरुले अवरोध समेत सिर्जना गरे। तर बहुसंख्यक स्थानीयले खुलेरै सडक विस्तारमा सहयोग पु¥याए । अतिक्रमित सडकलाई खुला राखी निर्वाध रुपमा सवारी साधन सञ्चालन गरिने मेयर विष्णु योगीले बताए ।
‘सडक अवरोध गरेर व्यापार गर्न पाइँदैन’,मेयर योगीले भने, ‘सामाजिक विकासमा सबैले सहकार्य गर्न अपरिहार्य छ ।’ सडक क्षेत्र नै ओगटेर स्थानीय व्यवसायीहरुले व्यापार गर्दा समस्या आएको प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधवराज भण्डारीले बताए ।
‘यो बाटोमा सर्वसाधारणलाई हिँड्नै गार्हो भयो।’ भण्डारीले भने, ‘पुरानो सडक यहि हो, यो खुल्न जरुरी थियो ।’ नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सडकहरुको स्तरवृद्धि तथा विस्तारमा नगरपालिका लागि परेको उपमेयर देवेन्द्र ब्रह्माले जानकारी गराए । ‘विकासका लागि नगरवासीले साथ दिनपर्छ। हामी हाम्रो जिम्मेवारी पूरा गर्न लागि परेका छौं ।’ ब्रह्माले भने ।
एकतर्फी प्रणाली लागु गरि बजार क्षेत्रमा रहेका दुबै सडकमा सवारी साधनको सञ्चालनलाई व्यवस्थित गरिने वडा अध्यक्ष पदम बहादुर थापाले बताए । बाग्दुला बजार देखि बाहाने जाने सवारीसाधन अहिले चलिरहेको सडक हुँदै जाने र बाहाने देखि बाग्दुला आउने सवारी साधन भित्री बजार क्षेत्रको सडक हुँदै आउनेबारे छलफल गरि चाँडै निष्कर्षमा पुगिने थापाले जानकारी गराए । ‘सडकमा वन वे को जानकारी गराउन सुचना पार्टी राख्नेछौं’, थापाले भने,‘अब दोहोरै बाटो भएर सवारी साधन चलाइने छ ।’
यस सडकमा स्थानीय व्यवसायीहरुले ठूला तथा साना सवारीसाधन दिनभर सडकमै राखी लोड तथा अनलोड गर्दा सडक दिनभर जाम हुँदै आएको थियो भने बजारमा किनमेल गर्न आउने सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो ।