प्यूठान : नेपाल विद्युत्त प्राधिकरण प्यूठानको लापरवाहीले गर्दा प्यूठानका एक यूवाको अकालमै ज्यान गएको छ । आइतवार नौवहिनी गाउापालिका वडा नम्वर ६ स्थित छमका २८ वर्षिय सन्तोष परियारको आफ्नै खेतमा जोत्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । विजुलीको पोललाई अडाएर राखिएको नांगो तारलाई छुदा करेन्ट लागेको बाहानेका स्थानीय महेश थापाले जानकार दिए ।
विद्युत्त प्राधिकरणले नियमित मर्मत संभार नगर्दा विजुलीको पोलमा अडाएर राखिएको नांगो तारमा करेन्ट फैलिएको स्थानीयको भनाई छ । विद्युत्त प्राविधिकहरुका अनुसार जमिनमै हुने नांगो तारलाई जसले जतिबेला पनि छुन मिल्ने खालको हुन्छ । तर, त्यसैमा करेन्ट प्रवाह हुनु भनेको केही न केही गल्ती भएको हुनसक्ने एक प्राविधिकले बताए ।
खेत जोत्दै गरेका परियारले तारलाई हातले समातेका थिए । त्यसपछि उनलाई करेन्ट लाग्यो र बेहोस् भए । स्थानीयले उपचारका लागि प्यूठान अस्पताल विजुवार लैजादै गर्दा बीचबाटोमै उनको मृत्यु भयो । अस्पताल नआउँदै परियारको मृत्यु भएको प्यूठान अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। प्रमिला खनालले जानकारी दिइन् ।
स्थानीयले विद्युत पोललाई जमिनबाट सपोर्ट गर्ने तारले करेन्ट प्रवाह हुने तारमा अडिएको अवस्थामा मृतक परियारलाई देखेको बताएका छन् । नेपाल विद्युत प्राधिकरण विजुवार शाखाका प्रमुख महेन्द्रकुमार दासले घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट पछि मात्र जानकारी हुने प्रतिक्रिया दिए ।
मृतक परियार केही समय अघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । उनका बुवा आमा दुई दाजुभाई, श्रीमती र एक छोरा छन् । उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी ६ स्थित छममा गएका थिए ।