सरुमारानी (प्यूठान) : सरुमारानी गाउँपालिका–२ दर्भान प्यूठानमा खानेपानीको समस्या देखिएको छ । खडेरीले मूल सुक्दा खानेपानीको आपूर्तिमा समस्या देखिएको दर्भान लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तराज आचार्यले बताए ।
दर्भान खोलामा इनार बनाई पानीलाई लिफ्ट गरेर मैदान बस्तीमा बनाईएको रिजर्भ ट्यांकीमा खसालिएको छ । ७० हजार लिटर पानी अट्ने क्षमताको ट्याङकीबाट दर्भान बस्तीका १ सय ७० घरधुरीमा ‘एक घर एक धारा’ को रूपमा योजना अघि बढाईएको छ । बैशाख र जेठ महिनामा खानेपानीको समस्या हुने गरेको आचार्यको भनाई छ । खानेपानीको दीर्घकालीन समस्या समाधानको उपायबारे खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानलाई जानकारी गराईएको उनले जानकारी गराए ।
विहानमा एकपटक पानी आउने गरेको दर्भान बजारमा बसोबास गर्ने सरस्वती मावि फोर्साबाङकी शिक्षिका एलिना सेनले बताईन । ‘सुख्खा मौषममा खानेपानीको चरम समस्या हुने गरेको छ’, सेनले भनिन्, ‘खानेपानी जीवनसंग जोडिएको विषय हो, यसको दीर्घकालीन व्यवस्थापन हुन जरुरी छ ।’ खानेपानीको समस्यासंगै स्थानीयहरुलाई कपडा धुन नुहाउन सास्ती खेप्नुपरेको छ । राप्ती नदीको पानी समेत धमिलो भएको सेनले बताइन ।
खानेपानीको स्थायी समस्या समाधानका लागि राप्ती नदीबाट पनि पानी लिफ्ट गर्न जरुरी भइसकेको स्थानीय शालिकराम पौडेलले बताए । ‘जनसंख्यासंगै बजार बस्ती बढ्दै छ पर्याप्त पानीको जोहो गर्ने बेला आइसकेको छ’,पौडेलले भने, ‘दीगो खानेपानीको व्यवस्थाका लागि स्थानीय सरकारको पनि चासो हुनु जरुरी छ ।’