काठमाडौँ : सहकारी संस्थाको बचत रकम दुरुपयोगमा संसदीय विशेष छानबिन समितिले सहकारी क्षेत्रका समस्याहरू समाधानका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय दलहरूलाई लिखित पत्राचार गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सभापती सूर्य थापाले सहकारी क्षेत्र आर्थिक क्षेत्रमात्र नभएकाले राजनीतिक दलहरूको सहयोगको अपेक्षा गरेको बताए ।
‘यो क्षेत्रका समस्याहरू समाधान गर्नका निम्ति प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई समस्या बुझाइ र समाधानका उपायहरू लिखित रूपमा छानबिन विशेष समितिलाई उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । राजनीति क्षेत्रबाट पनि यो अपेक्षा गरेका छौँ, किनभने संगठित रूपमा सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र व्यवस्थापनमा राजनीतिक दलहरू जिम्मेवार छन् । दलका विभिन्न व्यक्तिहरू संलग्न छन् । शुद्धीकरण र समाधानका निम्ति पनि राजनीतिक क्षेत्र जबाफदेही ढंगले छानबिन अभियानमा साथसाथै रहनुपर्छ भन्ने हाम्रो मान्यता छ’, उनले भने ।
मंगलबारको बैठकमा मुख्य राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका वर्तमान र पूर्वपदाधिकारी र कर्मचारीहरूसँग विभिन्न विषयमा छलफल गरेको उनले बताए । अर्को बैठक २० गते बस्ने सभापति थापाले जानकारी दिए ।