प्यूठान : रोल्पा सुलिचौरमा व्यापार गरि बस्ने सायिस्ता वशिमको परिवारलाई बज्रपात परेको छ । १४ वर्षीय उनी एक साता अघि साथीसँग खेल्न जाँदा विद्युत्तीय ट्रान्सफर्मरको तारलाई चिप्लिएर छुन पुगिन् । ट्रान्सर्फमरको करेन्ट उनीमाथी प्रवाह हुँदा वशिम गम्भिर घाइते भईन् । सडक किनारमै खुल्ला रुपमा रहेको ट्रान्सर्फमरलाई छुन पुग्दा करेन्ट लागेको स्थानीयले बताएका छन् ।
उनको अहिले काठमाण्डौं स्थित टिचिङ अस्पतालमा उपचार चलिरहेको छ । फेन्सी पसल गर्दै आएका वशिम परिवारलाई छोरीको उपचार कसरी गर्नेभन्नेमै चिन्ताले पिरलो परिरहेको छ । गत वर्ष मात्रै ठूली छोरीलाई बजारकै स्थानीय खोलाले बगाएर छोरीको ज्यान गयो । दोस्रो छोरीलाई करेन्ट लागेर अस्पतालको बेडमा छट्पटाएकी छिन् । कान्छो छोरा अपाङ्ग छन् २४ सै घण्टा ओछ्यानमा पर्दै आएका छन् ।
‘घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ’,सायिस्ताकी आमा अफिरा खातुनले भनिन, ‘छोरीको उपचारका कसरी गर्ने ठूलो चिन्तामा छौं ।’ सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाईएको सायिस्ताका मामा खुशीदिन मियाँलाई बताए । ‘सहयोग प्राप्त हुने क्रम चलिरहेको छ’,मियाँले भने, ‘गरिब परिवारलाई सबैले मद्दत गरेमा सायिस्तालाई निको पार्न सकिन्थ्यो ।’