प्यूठान : करेन्ट लागेर गम्भिर घाइते भएकी रोल्पा सुलिचौरकी सायिस्ता वशिम बचाऔं अभियानका लागि दोहा कतारबाट २ लाख ३० रुपैयाँ सहयोग प्राप्त भएको छ । अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज दोहा कतारका महासचिव मौलाना नजिर अहमदले कतारमा रहेका मुस्लिम सहयोगी दाताहरुबाट रकम संकलन गरी नेपाल पठाएको सायिस्ताका मामा खुशीदिन मियाँले जानकारी गराए ।
सायिस्ताको अहिले काठमाण्डौं स्थित टिचिङ अस्पतालमा उपचार चलिरहेको छ । ‘जलेको सबै ठाउँमा प्लास्टिक सर्जरी गर्नुपर्ने भएको छ’,मियाँले भने, ‘सबैको सहयोगले उनको उपचारमा सहजता थपिदै गएको छ ।’
सामाजिक सञ्जाल मार्फत ७ लाख ४१ हजार ६ सय ६७ रुपैयाँ सहयोग संकलन गरिएको छ भने रोल्पा र प्यूठानमा गरिएको घरधुरी सहयोग मार्फत २ लाख ३७ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।
यहि साउन ७ गते सुलिचौर बजार नजीकै रहेको विद्युतीय ट्रान्सफरको तारालाई छुन पुग्दा सायिस्तालाई करेन्ट प्रवाह हुँदा उनि गम्भिर घाइते हुन पुगेकी थिईन् । गत वर्ष वशिम परिवारकी जेठी छोरीलाई बजारकै खोलाले बगायो भने एक छोरा अहिले अपाङ्ग छन् ।