असार ३१ गतेको घटना हो–तपाईं, सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्मा, सार्वजनिक रूपमा भन्नुभएछ,“त्यो पत्रकार होइन, पत्रुकार हो । बुकुरोबाट बाहिर निस्कँदैन । फेक न्यूज लेख्छ ।” अनि फेरी थप्नुभएछ, “फोटो कसले दियो ? सूचना कसले दियो ?”
हुन त तपाईँलाई त्यो दिन मास धेरै देखेर नै हुनुपर्छ सायद, त्यसैले उत्तेजित भएर हो कि, सनकमा हो, वा म प्रतिको कुनै व्यक्तिगत रीस वा प्रतिसोध हो –तपाईंलाई नै थाहा होला ।
तर, हेल्लो झगबहादुर सर, हेक्का रहोस् –म पत्रकार मात्र होइन, संचार उद्यमी पनि हुँ । अनुज मिडिया प्राली मेरै हो । अनलाइन न्यूज पोर्टल कामना डेलीडटकम चलाउने मै हुँ । तपाईं सधैंझैँ ममाथि आक्रमण गरेर, धम्क्याएर, होच्याएर पत्रकारिताको आत्मा दबाउने सोचमा हुनुहुन्छ भने मेरो नम्र निवेदन छ, तपाइको त्यो चाहना कदापी पुरा हुनेछैन् ।
जनताले तपाइमाथी पनि संघीन आरोप लगाएका छन्, उनीहरू भन्छन् – तपाईं घमण्डी हुनुहुन्छ । सामन्ती प्रवृत्तिको हुनुहुन्छ । बौद्धिकताको खोल ओढ्नुभयो, तर आलोचना पचाउने आँट देखिएन । चुनाव जितेको दशक बित्यो, जनताको घर फर्केर जानुभएन । पालिका भवन र घरको परिधिभन्दा बाहिर तपाईंको उपस्थिति छैन भन्ने गुनासो छ ।
अब म किन बोलें ? हुन त म नबोले पनि हुन्थ्यो । रुक्मनी बराल हत्या प्रकरणमा अभियुक्त पक्राउ परिसकेका छन् । अनुसन्धान जारी छ । तर, परिस्थितिले बोल्न बाध्य बनायो । त्यो हत्या तपाईंहरूकै बेवास्ताको परिणाम हो ।
रुक्मनीका दोस्रो श्रीमान दिपक परियारले कैयौंपटक गाउँपालिकाको ढोका ढकढक्याए । “यो वैवाहिक विवाद समाधान गरिदिनुस्” भनेर गुहार गरे । ऐरावती गाउँपालिकाबाट समेत आग्रह आयो, तर तपाईँहरूको मौनता चिरिएन । यदि तपाईंहरूले समयमै पहल गर्नुभएको भए, शान्तिपूर्वक मिलापत्र गराउने, कानुनी समाधान खोज्ने चेष्टा देखाउनु भएको भए – आज रुक्मनी जीवित हुने थिइन् कि ?
हामी लेख्छौं, किनकि समाज माग्छ । हामी फोटो खिच्छौं, किनकि घटना जनताको हो । हामी बोल्छौं, किनकि मौनता सहमति होइन । अहिलेलाई यति लेखेर कलम रोकेको छु । तर प्रश्न खुला छन् । तपाईं उत्तर दिन तयार हुनुहुन्छ ?