प्यूठान : प्यूठानमा पहिलोपटक मृगौला रोगीका लागि डायलासिस सेवा सुरु हुने तयारी अन्तिम चरणमा पुगेसँगै बिरामीहरूमा आशा जागेको छ । तर, सेवा सञ्चालनका लागि स्थानीय तहहरूले गरेको आर्थिक प्रतिबद्धता अझै पूरा नहुँदा जिम्मेवारी र जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ ।
प्यूठान अस्पतालमा यहि चैतको पहिलो सातादेखि डायलासिस सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । उक्त सेवा लायन्स क्लब अफ प्यूठानको मुख्य पहल तथा लगानीमा सुरु हुन लागेको हो ।
क्लबका अध्यक्ष नविन कुमार श्रेष्ठका अनुसार कुल १ करोड ७६ लाख रुपैयाँ लागतमा परियोजना सञ्चालन भइरहेको छ । यसमध्ये ७५ प्रतिशत लगानी क्लबले नै व्यहोरेको छ भने बाँकी २५ प्रतिशत रकम जिल्लाका ९ वटै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर केही स्थानीय तहले अझैसम्म उक्त रकम उपलब्ध गराएका छैनन् ।
विशेषगरी प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका र ऐरावती गाउँपालिकाले प्रतिबद्धता अनुसारको रकम हालसम्म नदिँदा सेवा सञ्चालनमा चुनौती थपिएको छ । यस विषयमा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीले सम्बन्धित पक्ष रकम लिन नआएको दाबी गर्दै आगामी असारमा बजेट व्यवस्थापन गरी सहयोग गर्ने बताएका छन् । उता प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले दुईपटक रकम विनियोजन भइसकेको तर लिन नआएको भन्दै छिट्टै निकासा गरिने बताएका छन् ।
त्यस्तै, ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले यस विषयमा आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका छन् । हालसम्म ५ वटा डायलासिस मेसिन जडान भइसकेका छन् भने अस्पताल विकास समितिको पहलमा थप तीन वटा मेसिन थपिएपछि कुल ८ वटा मेसिन तयारी अवस्थामा छन् । अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टका अनुसार लुम्बिनी प्रदेश सरकारमार्फत आवश्यक पूर्वाधार तथा उपकरणको व्यवस्था समेत भइसकेको छ ।
जिल्लामा हाल ८६ जना मृगौला रोगी नियमित डायलासिसमा निर्भर छन् । सेवा अभावका कारण उनीहरू लमही, बुटवल, नेपालगञ्ज र काठमाडौँसम्म पुगेर उपचार गराउन बाध्य भएका थिए । डायलासिस सेवा सुरु भएपछि गुल्मी, अर्घाखाँची र रोल्पाका बिरामीहरूले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ । प्यूठान नगरपालिकाका पूर्व नगरप्रमुख अर्जुनकुमार कक्षपतिका अनुसार यसले क्षेत्रीय स्तरमै ठूलो राहत दिनेछ ।
यस परियोजनामा प्यूठान उद्योग वाणिज्य संघ, सुनिल स्मृति गाउँपालिका रोल्पा तथा होटल व्यवसायी संघ प्यूठान लगायतले समेत सहयोग गरेका छन् । सुरुवाती चरणमा ६ वटा मेसिन (१ आपतकालीन सहित) दैनिक दुई सिफ्टमा सञ्चालन गर्ने र बाँकी २ वटा मेसिन ब्याकअपमा राख्ने योजना रहेको छ ।
डायलासिस सेवा सुरु हुने तयारी पूरा भइसकेको अवस्थामा पनि स्थानीय तहहरूले गरेको प्रतिबद्धता समयमै कार्यान्वयन नगर्नु स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गम्भीर विषयका रूपमा हेरिएको छ । सरोकारवालाहरूले प्रतिबद्धता अनुसारको सहयोग तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् । डायलासिस सञ्चालनका लागि प्यूठान अस्पतालकै नाममा रहेको खातामा रकम जम्मा गर्ने विषयमा स्थानीय तहहरु जानकार हुँदाहुँदै पनि रकम जम्मा नगरिदिएको श्रेष्ठले बताए ।