मेरो औँलामा अहिले दुई ओटा ओइलिएका गुलाबका कोपिला छन् । ससाना, सुस्त र समयले थाकेका जस्ता लाग्ने यी फुलहरू अब पहिलाको जस्तो चम्किला छैनन्। रङ गडिएको छ, पातहरू खुम्चिएका छन्। तर मेरा लागि, यी फुलहरू अझै पनि ताजै छन् किनभने तिमीले दिएको त्यो प्रेम अझै पनि यि फुलमा बाँकी छ ।
तिमी गुलाबको कोपिलाजस्तै लजालु, भर्खरै फक्रिन लागेको, अलिकति डराउने तर भित्र गहिरो आत्मविश्वास बोकेको छौ। समयसँगै तिमी फुल्यौ, झनै निखारियौ। अब तिमी त्यो फूल बन्यौ, जसले हरेक को नजर तान्छ, जसको सुवासले सबैलाई आकर्षित गर्छ। मानिसहरू तिमीलाई हेरिरहेका छन्, तिमीमा रमाइरहेका छन्। त्यो स्वाभाविक हो राम्रो फूल मन पर्नु, सुगन्धको मोहमा हराउनु त प्रकृतिको नियम नै हो।
तर तिमी फुल्नुभन्दा अगाडि मैले तिमीलाई चिनेको थिएँ—त्यो सादगी, त्यो शुद्धता, त्यो अनौपचारिक माया मैले महसुस गरिसकेको थिएँ। आज तिमी फुल्यौ सबका नजरमा पर्यौ, तर मेरो नजरमा तिमी अझै पनि त्यो भर्खरको कोपिला हौ, जसमा जीवनको सबैभन्दा सच्चा रूप बसिरहेको छ।
यी गुलाबहरू तिमीले प्रेमपूर्वक दिएको उपहार हुन्। अरूका लागि यी सुक्खा र रंगहीन फूल हुन सक्छन्, तर मेरो लागि यी अमूल्य छन्। म जब यी फूलहरू हेर्छु तब तिमिलाई सम्झिन्छु तिमीले दिएको त्यो प्रेम, त्यो मौन भावना, त्यो हाँसो, जुन शब्द बिना पनि निकै गहिरो थियो।
जीवनको गति यस्तै रहन्छ कोपिला फुल बन्छ अनि फुल ओइलिन्छ। समय कसैको निम्ति रोकिदैन। तर प्रेम यो त समयभन्दा परको कुरा हो। तिमी ओइलिँदा पनि, म तिमीलाई माया गर्न छाड्नेछैन। किनभने मेरो प्रेम तिम्रो ताजगी वा रङसँग होइन, तिमीभित्रको आत्मासँग गाँसिएको छ।
कहिले काहीँ म यी गुलाबहरू हेर्छु, अनि मभित्रका भावनाहरू छचल्किन्छन्। लाग्छ, तिमि म सङ्गै छौ मेरो आँखामा, मेरो मुटुमा। तिमीलाई मुटुको बिचमा राखेको छु सधैंका लागि।आज तिमी सबैको प्रिय फुल बन्यौ, सबैले सुँघ्न खोज्ने, छुने चाहना राख्ने। मचाहिँ गर्वका साथ, माया गर्दै तिम्रो खुसि हेरिरहेको छु हेरिरहने छु। किनभने मेरो प्रेम स्वार्थी छैन। तिमी जहाँ खुशी हुन्छ्यौ, म त्यहीँ तिमीलाई देख्न चाहन्छु।
यि फुलहरू, यति बेला ताजगी गुमाइसकेका छन्, तर म यि फुलको आँखाबाट तिमीलाई हेर्छु। यि फुलले देखेका थिए तिमी हाँस्दा, तिमी लजाउँदा। तिनमा अझै पनि त्यो क्षणको कम्पन बाँकी छ जब तिमीले यि फुल मेरो हातमा राखेर भनेकी थियौ, “यो तिमीलाई...”
तिमीलाई थाहा छ? म तिमी आउनु भन्दा पहिले नै ओइलिइसकेको थिएँ—र तिमीले मलाई फेरि फुलायौ। तिमी मेरो जीवनको त्यो ऋतु बन्यौ, जसले हिउँपछिको पहिलो वसन्त ल्यायो। तिमीले मलाई फेरि बाँच्न सिकायौ, प्रेम गर्न सिकायौ।
आज पनि तिमी साथमै छौ यी गुलाबहरूजस्तै, समयले ओइलाएपनी म भित्र सधै ताजा बनेर। प्रेम समयको अधिनमा हुँदैन र फुल—जसले ओइलिँदा पनि सुगन्ध छोड्न जान्दछ त्यो प्रेमको प्रतीक हो। तिमी मेरो गुलाब हौ, जसलाई म सधैं माया गर्छु।