प्यूठान : अरु वडाका बस्ती बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपनि दुई वटा वडामा मात्र वितरण नगर्दा प्यूठानको झिमरुक गाउँपालिका वडा नम्वर ४ र ६ का नागरिकहरु सेवाबाट बञ्चित भएका छन् । मच्छिमा शाखा कार्यालय रहेको ज्योती विकास बैंकले गाउँमै पुगेर सेवा दिन नमान्दा गाउँ बस्तीमै भत्ता वितरण गर्न नसकिएको सम्वन्धित वडा अध्यक्षहरुले गुनासो गरेका छन् ।
‘चुनाव जित्दा पहिलो निर्णय सामाजिक सुरक्षा भत्ता बस्ती बस्तीमै पुगेर वितरण गर्ने निर्णय गरेका थियौँं’,वडा नम्वर ६ का अध्यक्ष धन बहादुर पुनले भने,‘ज्योती विकास बैंक मच्छि शाखामा पुगेर गाउँमा गएर भत्ता वितरण गर्नका लागि पटकपटक आग्रह गरे तर बैंकले नमान्दा अहिलेसम्म निर्णय कार्यान्वयन गर्न सकिएको छैन् ।’ वडा अध्यक्ष पुनले चुनावताका आफ्नो बस्ती बस्तीमै पुगेर सामाजिक सुरक्षा वितरण गर्ने लिखित प्रतिवद्धता समेत मतदाताका हातहातमा पु¥याएका थिए ।
‘हाम्रो निर्णय र अभियानमा बैंक बाधक बन्यो’,पुन भन्छन्,‘बैंकले कर्मचारी छैनन् । जान सकिदैन् भनेपछि जनतालाई हामीले के जवाफ दिने समस्या परेको छ ।’ उनका अनुसार वडा नम्वर ६ बाट जेष्ठ नागरिक, एकल महिला, बालवालिका, अपांग गरी कुल ५ सय ८५ जना नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् । त्यसमध्ये ३ सय ५५ जना महिला र २ सय ३२ जना पुरुष छन् । वडामा पर्ने धँगे, नेटा, मर्कावाङ, कुभिन्डे, चिचिन्डे, चिसावाङ र घुम्नेठाँटीका बस्तीमा भत्ता वितरण शिविर संचालन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।
त्यस्तै, झिमरुक गाउँपालिका वडा नम्वर ४ ले पनि वडा कार्यालय र बस्ती बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन् । वडा अध्यक्ष सिताराम पोख्रेलले पनि बैंकले नमान्दा भत्ता वितरण गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । यहाँबाट करिव ३ सय ८० जना व्यक्तिहरुले भत्ता बुझ्दै आएका छन् । वडा कार्यालय सहित चुँधारा, बांगेकोट र बौडामा समाजिक सुरक्षा भत्ता वितरण शिविर संचालन गर्नुपर्ने देखिएको उनको भनाई छ ।
गाउँपालिकाको वडा नम्वर १, २, ३, ५, ७ र ८ का बस्ती बस्ती र वडा कार्यालयमा पुगेर मच्छिमै रहेको सिटिजन्स बैंकले सामाजिक सुरक्षा वितरण गरिरहेको छ । यस बैंकले गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोवार समेत गदैै आइरहेको छ । बैंकका शाखा प्रवन्धक बालकृष्ण पोख्रेलका अनुसार बैंक मार्फत चौथो चौमासिक सहित वार्षिक करिव १२ करोड रुपैयाँ सामजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । उक्त बैंकबाट भत्ता बुझ्ने लाभग्राही कुल २ हजार ६ सय जना छन् ।
अरु वडाका बृद्धाहरुले गाउँमै भत्ता बुझेको कुरा सुनेपनि आफू बैंकमा पुग्नुपरेको झिमरुक गाउँपालिका वडा नम्वर ६ की ८० वर्षिय शिवादेवी गिरीले गुनासो गरिन् । ‘गाविस हुँदा घरमा पनि भत्ता बुझ्ने गरेका थियौं’,उनले भनिन्,‘अहिले गाउँपालिका हुँदा बैंकमा धाउनुप¥यो । सुख होला भनेको उल्टै दुःख भयो ।’
पालिकाभरीका नागरिकहरुलाई गाउँबस्तीमै पुगेर बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाई मूर्तरुप दिन वडा नम्वर ४ र ६ ले गर्दा नसकिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले प्रतिक्रिया दिए । ‘ती दुई वडाको भत्ता शुरुदेखि नै ज्योती विकास बैंक मार्फत वितरण हुँदै आएको छ’,क्षेत्रीले भने,‘बैंक र वडा कार्यालयका अध्यक्ष, जनप्रतिनिधीहरुसंग पनि पटक पटक छलफल गरेका थियौँ तर त्यसले पूर्णता पाउन सकेको छैन् । निकट भविष्यमै वडा नम्वर ४ र ६ का नागरिकहरुलाई पनि बस्तीमा पुगेर भत्ता वितरण गर्ने व्यवस्थालाई टुंगोमा पु¥याउँछौ ।’
ज्योती विकास बैंक केन्द्रिय कार्यालयका गुनासो सुन्ने अधिकारी बलदेव थापाले गाउँपालिका र वडा कार्यालयले बैंकले राखेका शर्तहरु पुरा गरेमा गाउँमै पुगेर भत्ता वितरण गर्न सकिने प्रतिक्रिया दिए । ‘हामीले भत्ता वितरण गर्न गाउँमा जानै सकिदैन् भनेका छैनौ’,थापाले भने,‘अरु धेरै जिल्लाहरुमा सेवा दिइरहेका छौँ । त्यहाँ पनि सेवा दिन सकिन्छ ।’ तर, भत्ता वितरण कार्यक्रम सार्वजनिक विदाको दिन हुनुपर्ने, वडा कार्यालयले गाउँमा भत्ता बुझ्ने सेवाग्राही भेला गराइदिनुपर्ने, सुरक्षाको व्यवस्था हुनुपर्ने र सवारी साधनको व्यवस्थापन पालिकाले गरिदिनुपर्ने उनको भनाई छ ।