प्यूठान : प्यूठान जिल्लामा प्रहरी जनशक्तिको अभावका कारण एक जना प्रहरीले औसतमा ६ सय ८३ जनसंख्याको सुरक्षा गर्नुपर्ने अवस्था देखिएको छ । जिल्लाको जनसंख्या र कार्यरत प्रहरी संख्याको अनुपातले यस्तो अवस्था उजागर गरेको हो ।
जिल्लाको कुल जनसंख्या २ लाख ३२ हजार १९ जना रहेको छ भने हाल जिल्लाभर ३ सय ४० जना प्रहरी कर्मचारी मात्र कार्यरत छन् जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार कार्यालयका लागि स्वीकृत दरबन्दी ४ सय ११ जना रहे पनि हाल ७१ जना प्रहरी जनशक्ति अपुग छ ।
‘एक जना प्रहरी कर्मचारीको औसत जिम्मेवारी करिब ३.८५ वर्ग किलोमिटर क्षेत्र पर्दछ’, डिएसपी अधिकारीले बताए । ‘अपुग जनशक्तिका लागि निरन्तर माग गरिरहेका छौँ ।’ सीमित जनशक्तिकै बीच जिल्लाको शान्ति सुरक्षा चुस्त बनाउन प्रहरी योजनाबद्ध रूपमा परिचालित भइरहेको उनले जानकारी दिए ।
हाल जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा बाहाने, बिजुवार र भिंग्रिमा इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् भने जिल्लाभर ७ वटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
तीन महिनामा ५० मुद्दा
जिल्ला प्रहरी कार्यालय प्यूठानले बुधबार जिल्लाका सञ्चारकर्मीलाई तीन महिनाको गतिविधि विवरण सार्वजनिक गरेको हो । असोज, कार्तिक र मंसिर मसान्तसम्ममा विभिन्न प्रकृतिका ५० वटा मुद्दा दर्ता भएका छन् ।
दर्ता मुद्दामध्ये सबैभन्दा बढी २४ वटा झुण्डी आत्महत्यासम्बन्धी रहेका छन्। सोही अवधिमा १० जना फरार प्रतिवादी पक्राउ परेका छन् भने जेन–जी आन्दोलनका क्रममा प्यूठान घर ठेगाना भएका ७ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले ज्यान मार्ने उद्योगबाट कर्तव्य ज्यानमा परिणत, कर्तव्य ज्यान तथा डाँका–चोरी सम्बन्धी मुद्दाहरूको सफल अनुसन्धान गरेको जनाएको छ ।
समन्वय अपरिहार्य
समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताउँदै डिएसपी अधिकारीले स्थानीय नागरिक, राजनीतिक दल, समाजसेवी र सञ्चारकर्मीबीचको समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले नागरिक सुनुवाइ, लागुऔषध नियन्त्रण, लैंगिक हिंसा न्यूनीकरण, साइबर अपराध नियन्त्रण तथा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम जिल्लाभर सञ्चालन गर्दै आएको जनाएको छ ।